लण्डन साउन २६ ।

भोक हड्ताल गरिरहेका भूतपूर्व गोर्खाहरुको सम्बन्धमा संघीय संसद प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिले एक उच्चस्तरीय समिति गठन गर्न निर्देशन दिएको छ ।
गोर्खा सत्याग्रह संयक्त संघर्ष समितिको आव्हानमा गोर्खाहरु बेलायती प्रधानमन्त्री कार्यालय अगाडि गत २१ जुलाइदेखि १७ दिनसम्म रिले अनसन शुरु गरेर हाल भोक हड्तालमा छन् । विगत ४ दिनदेखि भूपू गोर्खाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले भोक हड्तालमा बसेका हुन् ।
सोमबार बसेको समितिको बैठकले गोर्खा आन्दोलनको गाम्भीर्यतालाई ध्यानमा राखी एक उच्च स्तरिय वार्ता समिति गठन गरी बेलायत सरकारसँग अविलम्ब वार्ता थाल्न निर्देशन दिएको हो । परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि सभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्यहरु, भूतपूर्व गोर्खाका प्रतिनिधिहरु एवं सम्बन्धित विषयका विज्ञहरु समेत रहने गरी एक उच्चस्तरीय समिति गठन गरेर ब्रिटिश सरकारसंग वार्ता गर्न समेत सुझाव दिइएको छ ।
यसअघि विस्तृत छलफल गरी कार्यदल समेत गठन गरेर अध्ययन गरिसकेपछि मिति २०७५/१२ /०१ गते बसेको समितिको बैठकले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई ” भूतपूर्व गोर्खा सैनिकका समस्या सम्बोधन सम्बन्धी प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन, २०७५” मार्फत विभिन्न सुझाव एवं निर्देशन दिएको थियो ।
सोहि प्रतिवेदनको बुँदा नं. ६.५.२ मा नेपाल सरकारको तर्फबाट ब्रिटिश सरकारसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता समिति गठन गर्ने भन्ने निर्देशन छ ।






