काठमाडौं साउन ३१ ।

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा उद्धार गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले तालिवान विद्रोहीले राजधानी काबुलसमेत नियन्त्रणमा लिने देखिएको भन्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रुपमा हवाई तथा अन्य माध्यमबाट उद्धारका लागि विभिन्न उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
अफगानिस्तानमा तालिवान विद्रोहीले राजधानी काबुलसमेत नियन्त्रणमा लिने स्थिति देखिएकोले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई सुरक्षित रुपमा हवाई तथा अन्य माध्यमबाट उद्धार गर्नका लागि कूटनीतिकलगायतका सबै उपायको अवलम्बन गर्न नेपाल सरकारलाई निर्देशन दिने,निर्णयमा भनिएको छ ।
त्यस्तै बैठकले वैदेशिक रोजगारीमा जाने नेपालीहरुको विवरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनिवार्य रुपमा नियमित पठाउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।






