लण्डन कात्तिक २५ ।

नेपालमा कोरोनाको खोप लगाएकाहरुले बेलायत आउँदा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ ।
बेलायतले नेपालमा प्रयोग भएका कोरोना खोपहरु सिनोफार्म, सिनोभ्याक, कोभ्याक्सिन लगायतका खोपलाई मान्यता दिएपछि नोभेम्बर २२ देखि क्वारेन्टाइनमा बस्न नपर्ने भएको हो । बेलायतले यसअघि नै नेपालमा प्रयोगमा रहेका अरु कोरोना खोपहरु फाइजर, जोन्सन एण्ड जोन्सन, अक्सफोर्ड आष्ट्राजेनिका आदिलाई मान्यता दिइसकेको छ ।
नेपालमा कोभिड खोप लगाएको १४ दिन भएका यात्रुहरुले बेलायत आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने छैन । यस्तै १८वर्ष मुनीकालाई कोभिड भ्याक्सिन लगाउन आवश्यक नभएको नेपालस्थित बेलायती दुताबासले जनाएको छ । यसअघि नेपालमा पूरा डोज कोरोना खोप लगाए पनि बेलायत आएपछि घरमै १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको छ ।






