लन्डन । पुन मगर समाज यूकेले नेपालका म्याग्दी, पर्वत, बागलुङ र कास्कीका बाढीपहिरो प्रभावित मगर बस्तीका लागि सञ्चालन गरेको सहयोग अभियानबाट ६ हजार ९०० पाउन्ड संकलन गरेको छ।
समाजले सार्वजनिक गरेको विवरणअनुसार अभियानमा ११३ जना व्यक्ति तथा दाताले आर्थिक सहयोग गरेका छन्। सहयोग रकम बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त बस्तीको पुनःस्थापना र पुनर्निर्माणमा उपयोग गर्ने उद्देश्य राखिएको छ।
समाजका अनुसार बाढीपहिरोका कारण विभिन्न मगर बस्तीमा घर, जग्गा तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। धेरै परिवार घरबारविहीन भएका छन् भने खाद्यान्न, लत्ताकपडा, ओढ्ने–ओछ्याउने तथा अन्य आधारभूत आवश्यकताको अभाव झेलिरहेका छन्।
अभियानबाट संकलित सहयोग प्रभावित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री, अस्थायी आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले जुटाइएको समाजले जनाएको छ।
समाजले कठिन परिस्थितिमा सहयोग गर्ने सम्पूर्ण दाता तथा अभियानमा साथ दिने सदस्यहरूप्रति आभार व्यक्त गरेको छ। सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा जगाउन सक्ने भन्दै समाजले मानवीयता, एकता र सहकार्यको भावनालाई अभियानको मुख्य शक्ति मानेको छ। समाजले सहयोग संकलन अभियान बन्द गरिएको पनि पुन मगर समाज यूकेका अध्यक्ष तुलचन्द्र तिलिजाले जानकारी दिए ।







