मेजर तोलबहादुर खाम्चा

SHARE:

मेजर तोलबहादुर खाम्चा लेफ्टिनेन्ट कर्नेल दर्जामा विभूषित हुने पक्का भएको छ । उनलाई गत वर्षको ब्रिटिस आर्मीको प्रोमोसन बोर्डले लेफ्टेनेन्ट कर्नेलको लागि छनोट गरेको हो । उनी यो वर्षको जुन महिनादेखि अर्को वर्षको जुनभित्रमा कुनै पनि समयमा लेफ्टेनेन्ट कर्नेलको दर्जामा पदोन्नति हुनेछन् ।

गोर्खालीहरु ब्रिटिस आर्मीमा सेवा गरेको २०० वर्षको इतिहासमा मेजर तोल खाम्चा चौथो लेफ्टिनेन्ट कर्नेल हुनेछन् । यसभन्दा पहिला लालबहादुर पुन, विजय रावत, यामबहादुर राना लेफ्टिनेन्ट कर्नेलको दर्जामा पदोन्नति भएर पनि निवृत्त भइसकेका छन् भने मेजर तोलबहादुर खाम्चा लेफ्टिनेन्ट कर्नेल दर्जामा अझै पाँच वर्षको लागि बहाल रहने पक्का छ । उनको जागिरको अवधि, इमान्दारिता, बफादारिता, कर्तव्यनिष्ट, लगनशीलता र आकांक्षालाई विश्लेषण गर्दा उनी कर्नेल हुँदै ब्रिगेडियरसम्म पदोन्नति हुने प्रचूर सम्भावना देखिन्छ ।

स्वर्गीय पिता चन्द्रवीर खाम्चा र माता नरमता खाम्चाको कोखबाट स्याङ्जा जिल्ला शिरकोट करादिमा वि.स. २०२५ मा तोलबहादुर खाम्चाको जन्म भएको हो । तोल खाम्चाको प्रारम्भिक शिक्षा गाउँमा आफ्नै जग्गामा बाबाको सक्रियतामा बनेको स्कुलमा कक्षा तीनसम्म, पयुँखोला हटियामा अवस्थित श्री जनसेवा निम्न माध्यमिक विद्यालयमा चार कक्षामा अध्ययन गरेका थिए । तोलबहादुर खाम्चा बुटवलको कालिका नमुना माध्यमिक बिद्यालयबाट पाँच कक्षामा भर्ना भई सोही स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्यसपश्चात् ललितपुरको पुल्चोकस्थित इञ्जिनिरिङ क्याम्पसबाट ओभरसियर अध्ययन पूरा गरेका छन् ।

अध्ययनको सिलसिलामा साथीभाइको लहैलहैमा ब्रिटिस आर्मीमा छाती नाप्न पुगेका तोल खाम्चा कलरक तथा टेक्निसियनमा भर्ती भएका थिए । ब्रिटिस आर्मीको आधारभूत शिक्षा तथा तालिमपश्चात् कुइन्स गोर्खा सिग्नल रेजिमेन्टमा भर्ना भई धेरै वर्षसम्म विभिन्न क्वालिफिकेसन लिनुको साथै विभिन्न स्थान तथा दर्जामा रहेर टेक्निसियनको भूमिका निर्वाह गरेका छन् । बहादुरी, इमानदारी, बफादारी र लगनशील तोलबहादुर खाम्चा १५ वर्षमै अफिसर दर्जामा पदोन्नति भएका थिए भने टेक्निसियनमा उनले जेनेरल इलेक्ट्रोनिक कम्पनी (जीईसी) को क्वाकिफिकेसन लिएका छन् । जसको मान्यता डिप्लोमा सरह हुन्छ । कलिलो उमेरमा कमिसन भएको कारणले गर्दा उनलाई पल्टनले पल्टन तथा देश बाहिर भित्र विभिन्न खाले जिम्मेवारीहरु सुम्पिइयो । पल्टनले सुम्पिएको जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गरेको कारणले उनलाई कुइन्स गोर्खा सिग्नल रेजिमेन्टको गोर्खा मेजरको जिम्मेवारी वहन गर्ने शौभाग्य पनि मिलेको थियो ।

गोर्खा सिग्नल रेजिमेन्टको गोर्खा मेजरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनी इराकको बग्दादमा अमेरिकन आर्मीको हेर्डक्वाटरमा ब्रिटिस आर्मीको तर्फबाट चिफ अफ स्टाफको भूमिका निर्वाह गरेकोमा गर्व गर्छन् भने हालमा उनी सञ्चार विशेषज्ञ तथा योजनाकारको रुपमा कार्यरत छन् जसको काम बेलायतभन्दा बाहिर मुलुकमा रहेका ब्रिटिस आर्मी तथा उनका परिवारलाई संचारको सुविधा प्रदान गर्नु रहेको छ । मेजर तोल खाम्चा लेफ्टिनेन्ट कर्नेलमा पदोन्नति भएपश्चात् उनले हालको भन्दा अझ् प्रमुख तथा दूरदर्शी जिम्मेवारी पाउने आशा राखेका छन् ।

मेजर तोलबहादुर खाम्चाका श्रीमतीका नाम लिला खाम्चा हो भने छोरीहरु रोजिना, अर्चना, र छोरा प्रज्वल हुन् । उनको अनुशासन, लगनशील तथा बानी व्यहोरा देखेर धेरैले छोरी दिन आएका भए तापनि अन्त्यमा उनले श्रीमती लिला खाम्चालाई मागी विवाह गरेका थिए । शालीनता, इमान्दारिता, सबै उमेरका व्यक्तिहरुसँग सजिलै घुलमिल गर्न सक्ने मेजर तोल खाम्चाको विशेषता हो भने फुर्सदको समयमा उनी गल्फ खेल्न र दौडिन मन पराउँछन् ।

प्रस्तुति : चिम्खोले काइँला

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!