लन्डन डिसेम्बर १२ । तमुधिं यूकेले गुरुङ समुदायको ठूलो पर्व ‘तमु ल्होछार २०७८’ यही डिसेम्बर २६ तारिखमा मनाउने भएको छ । यस वर्ष तो ल्हो अर्थात् बाघ वर्ग परेको छ ।
गत वर्ष कोरोना भाइरस महामारीका कारण प्रभावित भएको ल्होछार कार्यक्रम यस वर्ष आयोजना गरिएको तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले भने, ‘कार्यक्रम हुन्छ । हिजो (आइतबार) कार्यक्रम तयारी सम्बन्धी अन्तिम बैठक बस्यो । सम्पूर्ण तयारी सकिएको छ । हामी आगन्तुकलाई स्वागत गर्ने हतारोमा छौं ।’
तमुधिंले उपाध्यक्ष जुमकाजी गुरुङलाई संयोजक बनाएर २१ औं ल्होछार कार्यक्रम व्यवस्थापन अगाडि बढाएको छ । नेपालबाट चर्चित कलाकार दुर्गा गुरुङ र पवित्र गुरुङलाई सहभागी गराएर कार्यक्रम गर्ने तयारीमा तमुधिं छ ।
कार्यक्रम २६ डिसेम्बरको दिन साँझ ५ बजेदेखि १० बजेसम्म अल्डरसटस्थित एम्पायर हलमा हुने छ । कार्यक्रममा सांस्कृतिक झाँकी, पूजापाठ, सांगीतिक प्रस्तुति लगायत आकर्षण रहेको अध्यक्ष गुरुङले जनाए ।
तमुधिं यूकेले बेलायतवासी नेपालीलाई एकै ठाउँमा भेला गराएर आपसी पहिचान, सद्भाव कायम राख्दै सांस्कृतिक चाड जोगाइराख्नका लागि हरेक वर्ष ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।
तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, सांस्कृतिक सचिव साधुराम गुरुङलगायतले तमुहरुको महान् पर्व ल्होछारको अवसरमा हुने कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।
नेपाली गुरुङ, तामाङ, शेर्पालगायतले ल्होछार (नयाँ वर्ष) लाई पर्वको रुपमा मनाउने गर्छन् । विशेषगरी तमु ल्होछार मितिको आधारमा हरेक पुस १५ गते मनाइन्छ । तर प्रवासी नेपालीहरुको अनुकूलताको आधारमा पुस १५ को आसपासमा विविध कार्यक्रम गरी मनाइने चलन छ ।






