गोर्खालीहरु ब्रिटिस आर्मीमा सेवा गरेको २०० वर्षको इतिहासमा एउटा छुट्टै इतिहास रचेको व्यक्तिको नाम हो यमबहादुर राना । उनी ब्रिटिस आर्मीको हरेक दर्जामा पदोन्नति हुँदै लेफ्टिनेन्ट कर्नेल दर्जामा पदोन्नति हुने पहिलो गोर्खाली हुन् । उनलाई ब्रिटिस आर्मीको २०१४ को प्रोमोसन बोर्डले लेफ्टिनेन्ट कर्नेलमा छनोट गरेको थियो भने २०१५ को जुन महिनामा लेफ्टिनेन्ट कर्नेलको दर्जामा पदोन्नति गरेको थियो । जुन पदोन्नतिले गर्दा अन्य गोर्खालीहरुलाई पनि लेफ्टिनेन्ट कर्नेलमा पदोन्नति हुने ढोका खुलेको छ ।
गुल्मीको लिम्घमा पिता फर्सबहादुर राना र माता जयन्ती रानाको सन्तानका रुपमा जन्मिएका यमबहादुर राना सानैदेखि तिख्खर बुद्धि तथा पातलो दिमाग भएका विद्यार्थी थिए । उनले कक्षा ७ सम्म गाउँकै स्कुलमा अध्ययन गरेका थिए भने आठ कक्षादेखि दस कक्षासम्म पाल्पाको पदम पब्लिक हाइस्कुलमा अध्ययन गरेका हुन् । यमबहादुर राना २०३५ सालको एसएलसीको परीक्षामा उक्त पदम पब्लिक हाइस्कुल पाल्पाबाट प्रथम श्रेणीमा उत्तीर्ण गरी पाल्पा जिल्लावासीलाई चकित पारेका थिए । अनौठो तथा तारिफयोग्य कुरा के छ भने, उनी अध्ययनरत स्कुलबाट कक्षा दसको परीक्षामा १४० जना विद्यार्थीहरु सहभागी थिए । तीमध्ये जम्मा ५८ जनाले मात्र कक्षा दसको टेष्ट परीक्षामा उत्तीर्ण भएका थिए । ती ५८ जना विद्यार्थीहरुमध्ये यमबहादुर राना पनि टेष्ट परीक्षा उतिर्ण गर्ने एउटा जेहेन्दार विद्यार्थी भएको हुँदा उनि पनि एसएलसी परीक्षामा सहभागी हुने मौका मिलेको थियो । अन्त्यमा एसएलसीको नतिजा गोर्खापत्रमा प्रकाशित हुँदा उक्त स्कुलका सम्पूर्ण विद्यार्थी अनुत्तीर्ण हँुदा यमबहादुर राना मात्र प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।
एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि काठमान्डूस्थित महाराजगंज मेडिकल कलेजमा हेल्थ एसिस्टेन्टमा अध्ययन गर्न पुगेका रानालाई २०३५ र २०३६ को बहुदलीय व्यवस्था प्राप्तिको लागि आन्दोलन गरिएको आन्दोलनले उनको अध्ययनलाई धेरै असर पुगेपछि डाक्टर हुने सपनालाई बीचमै छोडेर पहिलो विश्व तथा दोस्रो विश्वयुद्ध लडेका आफ्नो बाऊ तथा बाजेको पाइला पछ्याउँदै ब्रिटिस आर्मीमा छाती नाप्न पुगेका थिए । याम रानाले ब्रिटिस आर्मीमा छनोट हुने प्रक्रियामा राम्रो नतिजा ल्याउन सफल भएपछि उनलाई ब्रिटिस आर्मीले कुइन्स गोर्खा सिग्नलको लागि टेक्निसियनमा छनोट गरेको थियो । झन्डै एक वर्ष ब्रिटिस आर्मीको आधारभूत तालिम हङकङस्थित मलाया लाइन्समा लिएपश्चात् कुइन्स गोर्खा सिग्नलमा गएका थिए । कुइन्स गोर्खा सिग्नलमा गएपछि उनले ब्रिटिस आर्मीको सञ्चारसम्बन्धी आधारभूत तालिम लिएपश्चात् उनी धेरै पटक सञ्चारसम्बन्धी तालिमहरु लिन बेलायत आएका थिए । याम रानाले सञ्चार विषयमा एमएससी गरेका छन् ।
ब्रिटिस आर्मीको हरेक पदोन्नति हुँदै नोभेम्बर १९९९ मा कमिसन भएका यम रानाले लेफ्टिनेन्ट दर्जा एक दिनमात्र लगाएपछि अर्को दिनमा कायम मुकायम क्याटेन जर्जामा पदोन्नति भएको रमाइलो कहानी सुनाउँछन् । उनी कमिसन भएपश्चात् उनलाई रेजिमेन्टले रोयल सिग्नल रेजिमेन्टहरुमा महत्वपूर्ण जिम्मेवारी सुम्पाएर काजमा पठाएको थियो । उनले रोयल सिग्नल रेजिमेन्टहरुमा ट्रप कमान्डर, ओपेरसन अफिसर, बटालियन टुआईसी, स्टाफ अफिसर ग्रेड टु, ग्रेड वानजस्ता महत्वपूर्ण जिम्मेवारीहरु सफलतापूर्वक सम्पन्न गरेपछि रेजिमेन्टले गोर्खा मेजर पद सम्हाल्न २०१२ मा कुइन्स गोर्खा सिग्नलमा फिर्ता बोलाएको थियो । गोर्खा मेजरको कार्यकाल सफलतापूर्वक समापन गरेपछि उनलाई २०१४ को प्रोमोसन बोर्डले याम रानालाई लेफ्टिनेन्ट कर्नेलमा दर्जामा छनोट गरेको थियो । उनलाई ब्रिटिस आर्मीले जुन महिना २०१५ मा लेफ्टिनेन्ट कर्नेलको पदमा पदोन्नति गरेको थियो । गोर्खालीहरु ब्रिटिस आर्मीमा शेवा गरेको २०० वर्षको इतिहासमा जवानदेखि लेफ्टिनेन्ट कर्नेल हुने उनी पहिलो गोर्खाली हुन् । जसले गर्दा अन्य गोर्खालीहरुलाई ढोका खोलेको छ ।
लेफ्टिनेन्ट कर्नेल यम राना सरकारी सेवामा रहुञ्जेल आर्मी हेडक्वाटर एन्डोभरमा इन्टरनेट टेक्नोलोजीको इस्पेसिलिस्टको रुपमा कार्यरत थिए भने अवकाश प्राप्तपछि सोही ठाउँमा संसारभरि रहेका ब्रिटिस आर्मीका कार्यालयहरुमा इन्टरनेट टेक्नोलोजीलाई आधुनिकीकरण गर्ने जिम्मावारी पाएका छन् । कर्नेल यम रानासँग विवाह गर्नको लागि धेरै युवतीहरुको लाइन लागेको भए तापनि अन्त्यमा एउटी युवती छान्न पर्ने थियो । उनले एलिस रानालाई छानेका थिए । हालमा कर्नेल राना उनका श्रीमती एलिस राना छोरीहरु रोशनी, कृति र छोरा रोहितसँग बेलायतको बेजिङस्टोकमा स्थायी बसोबास छ । उनीहरुको छोरा रोहित राना पनि रोयल मिलिटरी एकाडमी स्यान्डहस्र्टका कमिसन अफिसर हुन् । मिलनसार, शालीनता, कहिले पनि मपाई नभन्ने तथा ठूलो नहुने कर्नेल यम रानाको विशेषता हो भने फूर्सदको समयमा गल्फ खेल्नु उनको हबी हो ।
प्रस्तुति : चिम्खोले काइँला






