
लन्डन २४ मे २०२२ । युरोपकै पहिलो नेपाली भिलेज युके परियोजना शुभारम्भ गरिएको छ । शनिबार २१ मे २०२२ का दिन बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा स्थानीय पार्लियामेन्ट सदस्य (MP) मिस फें जोन र बेलायतमा रहेका सफल व्यवसायीहरु, सामाजिक व्यक्तित्वहरु लगभग २०० जनाको समुपस्थितमा भिलेज युके परियोजना आरम्भ भएको हो । कार्यक्रम राजदूत आचार्य र एमपी मिस फें जोनले पानसमा बत्ती बालेर सुरु गरेका थिए ।
कार्यक्रममा ब्रेकनका मेयर तथा ब्रेकन धम्पुस भगिनी टाउन समिति अध्यक्ष डेविड मरडिथ, टालगर्थ मेयर फिल लुइस, पूर्वमेयरहरु, स्थानीय नेपाली समुदायका वयोवृद्ध सदस्य झपटबहादुर गुरुङ, तमुधिं बेलायतका अध्यक्ष हित काजी गुरुङ तथा उनकी पत्नी सीता मन्जु गुरुङ, तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रनबहादुर गुरुङ तथा उनकी धर्मपत्नी, एनआरएनए आईसीसी सदस्यहरु ललित नेउपाने, रामचन्द्र पोखरेल, समीर खनाललगायतकव पनि उपस्थिति थियो ।
लामो छलफल र तयारीपछि सुरु गरिएको परियोजनाका अध्यक्ष रिटायर्ड मेजर खुशीमान गुरुङ एमभीओको नेतृत्वमा बिहान ठीक ११ बजे कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम अध्यक्ष रि. मेजर गुरुङ (एमभीओ) बस्दै आएको क्षेत्र साथै परियोजना बन्ने सम्भावित क्षेत्र ब्रेकन टाउनको द क्यासल होटलमा आयोजना गरिएको थियो । परियोजनाका ११ जना बोर्ड अफ डाइरेक्टरमध्ये एक मधु गुरुङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष मानप्रसाद गुरुङ ले सम्पुर्ण उपस्थितलाई स्वागत गरेका थिए ।
कुनै पनि संरचनाको सम्पूर्ण भार थेग्न या वहन गर्नको निमित्त बनाइएको खम्बालाई स्तम्भ भनिने, त्यो स्तम्भसँग परियोजनाको महत्व, संवेदनशीलता र इतिहास जोडिनेजस्ता महत्वपूर्ण कुरालाई मनन गर्दै नेपाली भिलेज युकेले देखेका सपनाहरुलाई साकार पार्न र परियोजनालाई अनन्तकालसम्म मजबुत बनाउने प्रतिक स्वरूप ‘नेपाली भिलेज स्तम्भ’ बनाएर राजदूत आचार्यबाट मंगल धुनका साथ प्रतीक स्वरूप स्थापना गरियो । जसलाई योजनाको पहिलो चरणअन्तर्गत जग्गा किनेपछि जग्गामा लगेर नेपाली भिलेज युके यो संसारमा रहेसम्म सुरक्षित रहने हिसाबले स्थापना हुने परियोजनाका प्रवक्ताले जनाए ।
कार्यक्रमको पहिलो चरणमा ब्रेकनका मेयर (जो आफै नौ पटकसम्म नेपाल पुगिसकेका छन् र उनी ब्रेकन टाउन र नेपालको धम्पुस गाउँ बीचको भगिनी टाउन बनाउने समितिको अध्यक्ष पनि थिए)ले यो परियोजना आफूहरुका लागि पनि गौरवको योजना भएकोले यसलाई सफल बनाउन हरसम्भव प्रयास गर्ने बताए ।
छिमेकी टाउन टालगार्थ टाउनका मेयरले पनि कुनै पनि कारणले यो परियोजना ब्रेकनभन्दा बाहिर जान नदिन आफू कटिबद्ध रहेको भनाइ राखे । स्थानीय एमपीले यस्तो महत्वपूर्ण योजना आफ्नै क्षेत्रमा गर्न लागेकोमा नेपाली भिलेज युकेका अध्यक्ष र सम्पूर्ण टिमलाई धन्यवाद भन्दै यसले नेपालको र बेलायत, वेल्सको पर्यटन क्षेत्रमा निकै सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफु र आफ्नो मातहतका निकायहरुबाट सक्दो आवश्यक सहयोग रहने धारणा राखे ।
परियोजनाका अध्यक्ष रिटायर्ड मेजर खुशीमान गुरुङ एमभीओबाट योजनाका बारेमा स्लाइड सोमार्फत बुँदागत रुपमा जानकारी गराइएको थियो ।
१, सक्दो हामीले सोचेको, चाहेको अनुसारको जग्गा किन्ने
पहिलो चरण, (यसको अनुमानित समय चार वर्ष)
1, जग्गालाई चार किल्ला छुट्टाउने, र आवश्यक परे तारबार गर्ने
2, सबै कुरालाई ध्यानमा राखेर नेपालीशैली झल्काउने मूलद्वार (गेट) बनाउने
3, जग्गालाई दुई भागमा बाँड्ने र धरातल हेरेर दुई मध्ये एक भागलाई चार खण्डमा छुट्टाउने, बाँकी अर्को भागलाई खासै केही नगर्ने,
4, चार भागमा बाँडेको प्लटमा दुई अलग अलग ठाउँमा ट्वाईलेट, वाथरुम, लोकेशन हेरेर नेपाली स्टाईलको दुई “भान्साघर” बनाइने छ
5, आवश्यकताअनुसार सबै क्षेत्रमा गाडी पार्कीङ स्पेसहरु एलोकेट गरिने छ,
6, प्लटको ठीक बीचमा चौतारी बन्ने छ जुन पुरै स्थानीय ढुंगाको बन्ने छ, यसमा नेपालबाट पीपल र वरको बिरुवा ल्याएर सार्नेछौं, जग्गाको भूवनोट हेरेर देउराली छुट्टाइने छ, भूमेथान बनाइने छ,
7, मुख्य गेटबाट चौतारीसम्म दुवैपट्टी रेलीङसहितको सिंढी/ ढुंगा छापेर हिँड्ने बाटो बनाइने छ,
8, एउटा भागलाई क्याम्पिङ एरिया छुट्टाईने छ, जहाँ कमसेकम ५० बाट ८० टेन्टहरु फ़िट हुनेछन्,
9, हाम्रो नेपाली भिलेजमा व्यवस्था हुने पिउने पानी नेपाली ढुंगेधाराबाट आउने बनाइने छ ।
दोस्रो चरण (अनुमानित समम चार वर्ष)
1, क्याम्पिङ एरिया छुट्टाइएको प्लटमा सबै आवश्यक सुविधासहितको कमसेकम ५०० जना सहजै अटाउने विवाह लगायतका सामूहिक कार्यक्रम आयोजना गर्न सकिने हल बनाइने छ र त्यो हलको अगाडि कमसेकम त्यही साइजको मार्की अटाउने जग्गा ख़ाली राखिने छ ।
2, उपयुक्त ठाउँमा नेपाली सनातन परम्पराअनुसारको विवाह मण्डप (जग्गीया) बनाइने छ
3, यो वेडिङभेन्युको ठीक अर्को साईडमा पारम्परिक पिढी सहितको नेपाली घर बनाइने छ, पिढीको एक छेउमा ढिकी राखिने छ भने अर्को छेउमा जाँतो राखिने छ, घर पुरै नेपालको गाउँहरुमा हुने जस्तो बनाईने छ, यही घरभित्र नेपाली सोभनियर (नेपाली कलात्मक सामग्री ) दुकान हुनेछ,
4, कमसेकम १०० जना को लागी अर्को सुविधायुक्त भवन बन्नेछ जसमा योग शिविर (मेडीटेसन सेन्टर), तालीम अथवा कुनै कक्षा संचालन गर्न सकिने छ,
5, औसत नेपालीहरुका आस्थाका धरोहर ‘काष्ठमाण्डपका दुई नाथहरु’ भनेर चिनिने पशुपतिनाथ र बौद्धनाथ छुट्टाछुट्टै बनाइने छ जसमा कमसेकम दुई जनाभित्र पसेर पूजा गर्न सकिने हुनेछ ।
6, सबै क्षेत्रबाट सहजै देख्न सकिने स्थानमा विश्व विख्यात वीरबहादुर योद्धा गोर्खालीको मूर्ति बनाइने छ,
7, यही एरियामा उपयुक्त ठाँउमा एउटा बास्केटबल कोर्ट र भलिवल कोर्ट बनाईने छ,
8, पानीको उपयुक्त व्यवस्थापन हुने क्षेत्र हेरेर एउटा पोखरी बनाईने छ जसको बिचमा नेपाली भिलेज युकेको समुद्घाटन गरिएको नेपाली भिलेज स्थम्भ गाडिने छ अनि त्यसैमा वाटर फ़ाउन्टैन राखिने छ । यही पोखरीमा माछा पाल्न मिल्ने भए त्यो पनि कोसिस गरिनेछ ।
9, सम्भव भएसम्म नेपाल र नेपालीको गौरव सगरमाथालगायत मुख्य हिमालहरुको प्रतिकृति ( रेप्लिका) बनाइने छ
तेस्रो चरण (अनुमानित समय चार वर्ष)
1, नेपाली भिलेज युकेको तेस्रो चरणअन्तर्गत हामीले खरिद गरेको जग्गामध्यको बाँकी आधा जग्गालाई दुई भागमा छुट्टाइने छ
2, पहिलो भागमा सम्पूर्ण सुविधासहितको पुरै ठेट नेपाली रेस्टोरेन्ट हुनेछ,
3, तत्कालीन बजारको मागलाई मध्यनजर गर्दै सोहीअनुसार होमस्टे (बिएण्डबी) बनाइने छ,
4, केही ओल्डएज रेसीडेंसीयल होम बनाइने छ
5, बाँक़ी जग्गामा स्थानिय प्लानिंग संग सहकार्य गरेर नेपाली पाराका दुई र तिन बेडरूमका घरहरु बनाउने छौं
अन्तमा उनले संसारको जुनै कुनाबाट पनि बेलायत आउने नेपाली तथा गैर नेपालीहरुलाई नेपाली भिलेज युकेमा एकपटक पुग्नै पर्ने लिस्टमा समावेश गराउने लक्ष्य रहेको जानकारी गराए । त्यसो त यो सुरुमा केवल १० लाख पाउन्डबाट सुरु गर्न लागिएको परियोजना अहिलेका बोर्ड अफ डाइरेक्टरहरुले पनि गर्न सकिने हो तर यो नितान्त नेपाल र नेपालीको गौरवसँग जोडिएको योजना भएकोले सक्दो धेरैभन्दा धेरै नेपालीहरु तथा ग़ैर नेपालीहरुलाई जोड्न खोजिएको कुरा पनि स्पष्ट पारेका थिए ।
उक्त अवसरमा अध्यक्ष गुरुङले भने, ‘यो तपाईं/हामी सम्पूर्ण नेपालीले गौरव गर्न सकिने योजना भएको, यसको शेयर मूल्य पनि निकै मिलाएर राखिएको हुनाले सबै सबै नेपालीहरु तथा साथीभाइहरुलाई यसमा आबद्ध हुन अनुरोध गर्छु ।’ यसको बारेमा थप जानकारी चाहिएमा कम्पनीको वेबसाइट www.nepalivillageuk.com मा गएर बुझ्न पनि उनको अनुरोध थियो ।
पहिलो कार्यक्रमका प्रमुख अतिथि राजदूत आचार्यले पुरै देशले गर्व गर्न सक्ने परियोजना गर्न लागेको र यसको शुभारम्भमा आफूलाई निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपाली भिलेज स्तम्भको अवधारणा अत्यन्त मन परेको र यो परियोजनाले नेपाल र बेलायतको सम्बन्ध अझ प्रगाढ़ हुनेमा आफू विश्वस्त रहेको बताए । नेपाल र नेपालीको शीर उँचो बनाउने किसिमको यो परियोजनामा रहेका विभिन्न क्षेत्र, समुदायका सदस्यहरुको संलग्नता आफैमा राम्रो पक्ष भएको र यसले योजनामा बताइएअनुसार नै नेपालका कला संस्कार र संस्कृतको जगेर्ना गर्ने कुरामा ढुक्क भएकोमा उनले जोड़ दिए । परियोजनाका निमित्त आवश्यक र दूतावासबाट सम्भव हुने सबै सहयोग रहने वचन दिँदै रमणीय ब्रेकनमा पहिलो पटक आएको तर अब समय अनुकूल आइरहने पनि बताए ।
यसरी पहिलो चरणको कार्यक्रममा उपस्थित सबैलाई अध्यक्षद्वारा धन्यवाद भन्दै समापन गरियो भने दिनको खाना खाएपछि परियोजनाका शेयर होल्डर तथा सम्भावित शेयरहोल्डरहरुसँग अन्तरक्रिया कार्यक्रम राखिएको थियो । मात्रै £५००० ( पाँच हज़ार पाउन्ड) प्रतिशेयर मूल्य राखिएकोमा लगभग १०० जना शेयरहोल्डरहरुले आफ्नो एक शेयर निवेश प्रतिबद्धता जनाएको र ३० शेयरहोल्डरहरुले रक़म पनि ट्रान्सफर गरिससकेको जानकारी गराए । उक्त अवसरमा अध्यक्ष मेजर ख़ुशीमान गुरुङ एमभिओले ११ जना शेयसहोल्डहरुको संक्षिप्त परिचय पनि दिएका थिए । जसअनुसार
१, रिटायर्ड मेजर ख़ुशीमान गुरुङ एमभीओ-अध्यक्ष
२, मानप्रासाद गुरुङ-उपाध्यक्ष
३, जसु गुरुङ मसेन्स -कोषाध्यक्ष
४, टिकाराम (जीवन) गुरुङ- सचिव
५, बिक्रम भट्टराई- प्रवक्ता
६, मधु गुरुङ-सदस्य
७, बालकृष्ण गुरुङ (पवन)-सदस्य
८, शेरा गुरुङ- सदस्य
९, नन्द बयाम्बु – सदस्य
१०, लोकेन्द्र श्रेष्ठ- सदस्य
११, गंगाप्रसाद (पबित्रा) गुरुङ्ग- सदस्य
यो टिमप्रति आफू अत्यन्त प्रभावित भएको जानकारी उनले दिएका थिए । सोही साँझ राजदूत ज्ञानचन्द्र आचार्य अनि उनकी धर्मपत्नीसहित परियोजनाका बोर्ड अफ डाइरेक्टर र परिवारलगायत लगभग ६० भन्दा धेरै शेयरहोल्डरहरुले द क्यासल होटलमा रात्रिभोजमा सहभागी भएका थिए ।






