लन्डन । बेलायतमा रहेका नेपालीहरूबाट लमजुङको भोटेओडार आँखा उपचार केन्द्रलाई ३१ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ।
समाजसेवी गुणा गुरुङको सक्रियतामा बेलायतवासी नेपालीहरूबाट संकलित २७ लाख ५२ हजार ३७२ रुपैयाँ, छोए ग्रुप लन्डनबाट २ लाख ६८ हजार ७३६ रुपैयाँ र लमजुङ समाज यूके आमा समूहबाट १ लाख रुपैयाँ गरी कुल ३१ लाख २१ हजार १०८ रुपैयाँ सहयोग गरिएको हो।
कात्तिक ११ गते आयोजित कार्यक्रममा संकलित रकमको चेक आँखा उपचार केन्द्रका अध्यक्ष उत्तरकुमार श्रेष्ठलाई समाजसेवी गुणा गुरुङ र उनका श्रीमान्ले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
आँखा उपचार केन्द्रका लागि अत्यावश्यक उपकरण खरिद गर्ने उद्देश्यले उक्त सहयोग संकलन गरिएको जनाइएको छ।
सहयोग प्राप्त भएपछि आँखा उपचार केन्द्रले समाजसेवी गुणा गुरुङ दम्पतीसहित बेलायतमा रहेका सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएको छ।






