- एभरेस्ट टाइम्स संवाददाता
लन्डन । बेलायतमा नेपाली कला, संस्कृति, इतिहास र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाली भिलेज यूकेले आफ्नो परियोजना विस्तारका क्रममा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
कम्पनीले मुख्य परियोजना परिसरनजिकै रहेको २२ कोठे होटल, कार्यक्रम हल र करिब ११ एकर जग्गासहितको सम्पत्ति खरिद गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक मेजर खुसीमान गुरुङ एमभीओले शुक्रबार एक कार्यक्रमबीच उक्त सम्पत्तिको चाबी प्राप्त भएको जानकारी दिएका छन्। सोही दिन विधिवत् रूपमा गृहप्रवेशसमेत गरिएको छ।



‘२२ शयनकक्ष, ११ एकड जग्गा, ठूलो समारोह हल र उत्कृष्ट सुविधासहितको पुरानो चारतारे होटल ओल्ड रेक्टरी कन्ट्री होटलको अधिग्रहण प्रक्रिया आधिकारिक रूपमा पूरा भएको घोषणा गर्न पाउँदा खुसी छु,’ मेजर गुरुङले भने, ‘यस यात्रामा निरन्तर साथ, धैर्य, विश्वास र समर्पण देखाउनुहुने सम्पूर्ण सेयरधनी तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछु।’


मेजर गुरुङका अनुसार आवश्यक तयारी र स्तरोन्नतिपछि उक्त होटललाई ‘द गोरखा दरबार होटल’ नामबाट सञ्चालन गर्ने योजना छ। यस अधिग्रहणसँगै नेपाली भिलेज यूकेको सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक विकास योजनाले थप गति लिने कम्पनीको अपेक्षा छ।
भवन खरिद १३.५० लाख, मर्मत इत्यादिसहित १८ लाख पाउन्ड लाग्नेछ ।

नेपाली संस्कृति र सम्पदाको जीवन्त केन्द्र
नेपाली भिलेज यूकेको दीर्घकालीन उद्देश्य बेलायतमा नेपालको इतिहास, कला, संस्कृति, धार्मिक आस्था तथा परम्परागत जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गर्ने विशिष्ट सांस्कृतिक तथा पर्यटकीय गन्तव्य विकास गर्नु हो।
परियोजनाअन्तर्गत लुम्बिनी, सगरमाथा, गोर्खा सैनिकको सालिक, परम्परागत चौतारी, ढुङ्गेधारा, धरहरा, पशुपतिनाथ, बौद्धनाथ तथा १०८ धारालगायत नेपालका प्रमुख सांस्कृतिक र ऐतिहासिक सम्पदाबाट प्रेरित संरचना तथा प्रतिकृति निर्माण गर्ने परिकल्पना गरिएको छ।
त्यसैगरी, ध्यान केन्द्र निर्माणका साथै विवाह समारोह, सांस्कृतिक उत्सव तथा अन्य कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना पनि रहेको छ।
कम्पनीका अनुसार परियोजना स्थानीय समुदायसँगको सहकार्य तथा सम्बन्धित निकायको आवश्यक स्वीकृति र निर्देशनअनुसार चरणबद्ध रूपमा विकास गरिनेछ।
परियोजनाको दायरा थप विस्तार
नेपाली भिलेज यूकेले करिब तीन वर्षअघि चारकोठे घर, ठूला बार्न भवन तथा करिब २४ एकर जग्गा खरिद गरी परियोजनाको प्रारम्भिक आधार तयार गरेको थियो। अहिले थप ११ एकर जग्गा र २२ कोठे होटल खरिद गरेसँगै परियोजनाको क्षेत्रफल र पूर्वाधार दुवै विस्तार भएका छन्।
प्रस्तावित ‘द गोरखा दरबार होटल’ लाई पर्यटकको आवाससँगै विवाह समारोह, सांस्कृतिक कार्यक्रम, सामुदायिक भेटघाट तथा अन्य कार्यक्रम सञ्चालनका लागि उपयोग गर्ने योजना छ।
प्रबन्ध निर्देशक मेजर खुसीमान गुरुङ एमभीओका अनुसार नेपाली भिलेज यूकेको अवधारणा व्यावसायिक परियोजनामा मात्र सीमित छैन। नेपाली इतिहास, संस्कृति र पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुका साथै नेपाल र बेलायतबीचको सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउनु यसको दीर्घकालीन उद्देश्य हो।
करिब ५०० सेयर बिक्री, थप १०० बिक्री खुला
कम्पनीले हालसम्म करिब ५०० सेयर बिक्री गरिसकेको जनाएको छ। परियोजनामा सहभागी हुन इच्छुक व्यक्तिका लागि डिसेम्बर २०२६ को अन्त्यसम्म थप १०० सेयर बिक्री खुला गरिएको छ।
सेयरको मूल्य, उपलब्धता, खरिद प्रक्रिया तथा सम्बन्धित सर्तबारे कम्पनीका निर्देशकहरूबाट आधिकारिक जानकारी लिन सकिनेछ।
डिसेम्बर ५ मा विशेष कार्यक्रम

नेपाली भिलेज यूकेले आगामी ५ डिसेम्बर २०२६ मा आल्डरसटस्थित ‘द प्यालेस हल’ मा सेयरधनी, सम्भावित लगानीकर्ता तथा शुभेच्छुकका लागि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, प्रमुख उपलब्धि, भावी योजना तथा व्यावसायिक सम्भावनाबारे जानकारी प्रस्तुत गरिनेछ। साथै, सेयर प्रमाणपत्र वितरण गर्ने कार्यक्रमसमेत रहेको कम्पनीले जनाएको छ।
नेपाली भिलेज यूकेले नेपाली समुदाय, सेयरधनी, सम्भावित लगानीकर्ता तथा शुभेच्छुकलाई परियोजनाको प्रगति र भावी योजनाबारे जानकारी लिन तथा यस दीर्घकालीन अभियानमा सहभागी हुन आह्वान गरेको छ।
नेपाली पहिचान, सामुदायिक एकता र भावी पुस्ताको गौरवसँग जोडिएको यो परियोजना दीर्घकालीन अभियान भएको मेजर गुरुङले प्रस्ट पारेका छन्।

परियोजनाको पृष्ठभूमि
नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण विश्वकै सुन्दर देश हो । भगवान् गौतम बुद्ध जन्मेको देश तथा हिमालयको भूमि पनि हो, जहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विभिन्न हिमश्रृङ्खला अवस्थित छन् । नेपाली कोखमा यती तथा वीर गोर्खालीहरूको गाथा बोकेको अनुभूति गर्न सकिन्छ । रोमाञ्चकारी दृश्यहरू र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश नेपालका नागरिक विश्वभर गौरवका साथ वीर गोर्खालीका नामले चिनिन्छन् ।
संयुक्त अधिराज्य (यूके) लगायतका युरोपेली देशमा धेरै नेपाली समुदायको बसोबास छ । कामको सिलसिलामा ब्रिटिस सेनामा भर्ती भएका तथा विद्यार्थीको रूपमा बेलायत आएका नेपालीहरूले कालान्तरमा बेलायत र युरोपको समृद्धिमा योगदान दिन यहीँ बस्ने निर्णय गरेका हुन् । यहाँका नेपालीहरूले धेरै पहिलेदेखि नै बिदा मनाउने तथा मनोरञ्जनात्मक गतिविधि गर्नका निम्ति नेपाल झल्किने आफ्नै थलो होस् भन्ने चाहना राख्दै आएका थिए । यसै कारण ‘नेपाली भिलेज’ निर्माणको अवधारणा जन्मिएको हो । यो त्यस्तो भिलेज हुनेछ, जहाँ जो कोहीले आफ्नो व्यस्त दैनिकीबाट छोटो विश्राम लिएर छुट्टी मनाउन वा ग्रामीण क्षेत्रको अनुभवसहित रमाइलो गर्न सक्नेछन् ।

सन् २०२१ मा सुरु भएको नेपाली भिलेज यूके समुदायमा आधारित व्यावसायिक र दीर्घकालीन परियोजना हो । यो बेलायतमा मात्र नभई युरोपकै यस प्रकारको पहिलो परियोजना हो । नितान्त समुदायसँग आत्मा जोडिएको परियोजना भएकाले स्थानीय समुदायको सहमति र स्थानीय निकायको निर्देशनमा नेपाली भिलेजले भगवान् बुद्धको जन्मभूमि लुम्बिनी, सगरमाथा, ठूलो चौतारी, ऐतिहासिक ढुंगेधाराहरू, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, १०८ धारालगायतका नेपालका प्रख्यात स्मारकका साथै ध्यान केन्द्र, होटल, विवाह तथा अन्य कार्यक्रम गर्नका लागि सुविधासम्पन्न हल, पूजा, मेला तथा विभिन्न चाडपर्व आयोजनाका लागि समेत सुविधा प्रदान गर्नेछ ।
यस परियोजनाले सात समुद्रपारि पनि नेपाल र नेपालीको मौलिक पहिचान तथा कला संस्कृति झल्काउन मद्दत पुगोस् भन्ने हाम्रो ध्येय हो । ग्रामीण नेपालको झझल्को आउने आभास हुने गरी बिदा मनाउने स्थानको निर्माण गरिनेछ ।

उद्देश्य
यस परियोजनाको मुख्य उद्देश्य मिड वेल्स, बेलायतमा ‘नेपाली भिलेज’ निर्माण गर्नु हो । नेपाली भिलेज नेपाललाई बेलायतमा चिनाउने मनोरञ्जनात्मक तथा शैक्षिक केन्द्रका रूपमा स्थापित हुनेछ । यो शान्त वातावरणमा स्थानीय तथा नेपाली संस्कृतिबारे जान्न र ग्रामीण नेपाली गाउँको स्वाद अनुभव गर्न पाउने र फुर्सदको समय बिताउन सक्ने ठाउँ पनि हुनेछ ।
लक्ष्य
बेलायतको मिड वेल्समा जग्गा खरिद गरी नेपाल झल्किने संरचना निर्माण गर्नुका साथै नेपाली कला, संस्कृतिको जगेर्ना तथा संवर्धनसँगै वेल्स र नेपालको पर्यटन प्रवर्धन गर्नु नै यसको मुख्य लक्ष्य हो । बेलायतमा रहेका नेपाली तथा अन्य समुदायले बिदाको समयमा समेत नेपाली भिलेजमा भेला भई समुदायस्तरमा आपसी छलफल तथा मनोरञ्जनात्मक गतिविधि गर्न सक्नेछन् ।
सम्बन्धित समाचार






