
लन्डन ४ जून २०२२ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) ले राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष तथा वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ ।
अल्डरसटस्थित एनआरएनए यूकेको कार्यालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा डा पुनलाई स्वागत तथा सम्मान गरिएको हो । डा पुनलाई
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले पुष्पगुच्छा र खादाले सम्मान गरेका थिए ।
अन्तरक्रियासमेत भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. पुनले सम्मानका लागि एनआरएनए यूकेलाई धन्यवाद दिए । सन् १९९२ मा अमेरिकाबाट फर्किएर समाजसेवामा लागेका पुनले आविष्कार केन्द्र स्थापनाको उद्देश्य र आवश्यकताबारे औंल्याए । देशको विकास गाउँगाउँमा झोला बोकेर समाजसेवाले मात्र नहुने धारणा राख्दै उनले देश र समाज रुपान्तरणका लागि युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने र त्यो देशलाई समृद्धि बनाएमात्र सम्भव हुने बताए ।
विश्वका कयौं राष्ट्रका आविष्कार केन्द्रहरुसँग केही सहकार्य गर्न सकिन्छ कि भनेर आफू हिँडिरहेको जनाउँदै पुनले अरु देशका आविष्कार केन्द्र ठूला तर आफ्नो पृथक बताउने गरेको पनि सुनाए । एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक गोविन्द खरेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख संरक्षक शेरबहादुर सुनारले पुनको व्यक्तित्व र सामाजिक कार्यको चर्चा गर्दै पुन र कुलमान घिसिङहरु देशका सच्चा सपुत भएको बताए ।
आफ्नो देश र गाउँको विकासका लागि अमेरिका बसाइसमेत छाडेर स्वदेश फर्कनु उनको ठूलो त्याग भएको जनाउँदै सुनारले पुनप्रति सम्मान दर्शाए ।
कार्यक्रम अध्यक्षता गरेका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वैज्ञानिक डा. पुन देशको सान र गौरव भएको जनाउँदै पुनले आफ्नो देशलाई दिएको योगदानप्रति सम्मान व्यक्त गरे । देश समृद्धि नहुँदा प्रवासमा रहनु परेको प्रसंग निकाल्दै अध्यक्ष गाहामगरले गैर आवासीय नेपालीहरु देशका लागि ज्ञान र सीप प्रदान गर्न सधैं इच्छुक रहेको बताए । आविष्कार केन्द्रलाई ठूलो रकम आवश्यक भएको परिप्रेक्ष्यमा गैर आवासीय नेपालीले हातेमालो गर्ने गाहामगरले जनाए ।
गैर आवासीय नेपालीलाई दोहोरो नागरिकताको प्रत्याभूति नभएसम्म देशमा लगानी तथा अन्य कामका लागि आत्मबल नहुने बताउँदै गाहामगरले नेपाल सरकारलाई यसतर्फ गम्भीर भएर सोच्न आग्रह गरे । कार्यक्रममा काउन्सिलर रामकुमार लिम्बु, आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेलगायतले मन्तव्य दिएका थिए ।






