लण्डन जुन १२ ।

बेलायतका रक्षामन्त्री वेन बालेसले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् ।
युक्रेनमा रुसी सेनासित लड्न सैनिक सामग्रीको अभाव भइरहेको समाचार आइरहेको बेलामा रक्षा मन्त्री वालेसले सो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
हाल बेलायतको भ्रमणमा रहेका युक्रेनका रक्षा मन्त्रीसँगको भेटघाटपछि बेलायती रक्षा मन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उनिहरुबीच भएको भेटका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।
अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप वृद्धि गरिने बेलायती रक्षा मन्त्री वालेसले जानकारी दिए । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग लडाइँ गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।
गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।






