लन्डन १७ जुन २०२२ । क्षेत्री समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट २१ तारिख आइतबार हुने भएको छ ।
भेटघाट फार्नबरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने भएको हो । नेपाली कला संस्कृति, परम्परा र रीतिरिवाजलाई निरन्तरता दिँदै भावी पुस्तामाझ पनि आफ्ना मौलिकपनलाई पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम गरिंदै आएको छ ।
कार्यक्रममा मौलिक नेपाली प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ । बेलायतभर छरिएर रहेका क्षेत्री बन्धुहरुलाई एकत्रित गराउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा सयौंको संख्यामा मानिसहरुको र जमघट हुने गर्दछ । स्थापनाकालदेखि नै क्षेत्री समाज बेलायतले विभिन्न सामाजिक गतिविधि, नेपालमा आइपर्ने दैवी प्रकोपलगायत थुप्रै सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
कार्यक्रममा सहभागी हुन क्षेत्री समाज यूकेले सम्पूर्ण क्षेत्री बन्धुहरुलाई आग्रह गरेको छ ।






