पोखरा २५ जुन २०२२ । बेलायत गुरुङहरु सबैभन्दा ठूलो र साझा संस्था तमुधिं यूकेले पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड’लाई तमुधिं यूकेले नगद १ लाख सहयोग गरेको हो । तमुधिं यूकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले मञ्चलाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा तमुधिं यूकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमुधिं यूकेले नेपालमा हुने समाजका हरेक गतिविधिमा सहयोग गर्दै आएको उल्लेख गर्दै तमुधिंका अध्यक्ष हित काजी गुरुङलगायत तमुधिं यूके परवारले कार्यक्रम सफलताको शुभकामना समेत सन्देश पठाएको बताए । उनले तमुधिं यूकेले नेपालको खेलकुदसँगै शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रको विकासका लागि सहयोग गर्दै आइरहेको र त्यस मध्ये पोखरा स्पोर्टस अवार्ड समेत रहेको बताए ।
तमुधिं यूकेले पोखरा स्पोर्टस अवार्ड सफल बनाउन गरेको सहयोगप्रति अवार्डका लागि अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकले आभार व्यक्त गरेका छन् । तमुधिं यूकेले हरेक वर्षझैं यस वर्षसमेत अवार्डलाई सफल बनाउन अग्रपंक्तिमा रहेर सहयोग गरेको र अन्य संघ संस्थाहरुलाई समेत अवार्ड कार्यक्रमलाई सफल बनाउन उनले आह्वान गरे ।
मञ्चका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रममा अग्रज फोटो पत्रकार तथा समितिका सहसंयोजक सुदर्शन रञ्जित, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठको सहभागिता थियो ।
पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।
पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् भने विदेशबाट समेत सहयोग आउने क्रम जारी छ ।






