
लन्डन २५ जुन २०२२ । बेलायत भ्रमणमा रहेका नेपालका पूर्वमन्त्री तथा सांसदहरुले गोर्खाहरुको समस्या समाधान गर्न प्रतिबद्धता जनाएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले पूर्वमन्त्री र सांसदहरुसँग शुक्रबार साँझ आफ्नै कार्यालयमा गरेको अन्तरक्रियामा उनीहरुले गैरआवासीय नेपालीलाई नागरिकता दिने विधेयक टुंग्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । अन्तरक्रियामा पूर्वमन्त्रीहरु डा. मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथा सांसदहरु प्रमिला राई, जयकुमार राईलगायत उपस्थित थिए ।
प्रमुख अतिथि पूर्वमन्त्री एवं कांग्रेस नेता डा. रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक पहल र प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै यो विषय गम्भीररुपमा टुंग्याउनुपर्ने बताए । उनले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे ।
पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधान नगरी नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए । नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटी यसबारे थप झक्झकाउने आश्वासन दिए ।
पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्या नभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयक पारित हुने बताए ।
कार्यक्रमका सभापति तथा एनआरएनए यूके प्रेम गाहामगरले नेताहरुसँग भूतपूर्व गोर्खा मुद्दा समाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्न पहलका लागि जोड दिए । एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरे ।






