लन्डन २७ जुन २०२२ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले एक दिने समाचार लेखन कार्यशालाको आयोजना गरेको छ ।
जुममार्फत भर्चुअलरुपमा आइतबार चलेको कार्यशाला अध्यक्ष गोमा रानाको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको थियो ।
कार्यशालामा फोनिज युकेका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष नरेश खपाङ्गीमगरले तालिम दिएका थिए । उनले सहभागीहरुसित अन्तरक्रिया गर्दै समाचार कसरी चिन्ने, समाचारको मूल्य केले तय हुन्छ, समाचार लेखनको योजना कसरी बनाउने, समाचारको लिड कसरी प्रभावकारी लेख्ने, समाचारको भाषा कस्तो हुनुपर्छ, राम्रो समाचार लेख्न के गर्नुपर्छ भन्ने बारेमा तालिम दिएका थिए ।
कार्यशालामा करिब ३० जना सहभागी थिए । सहभागीको प्रश्नको जवाफ प्रशिक्षक खपाङ्गीमगरले दिएका थिए । कार्यशालामा उपस्थित सबैलाई धन्यवाद दिँदै अध्यक्ष रानाले कार्यशाला समापन गरेकी थिइन् ।






