
लन्डन १ जुलाई २०२२ । पूर्व गोर्खाहरुले फेरि आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् । गोर्खा भूतपूर्व सत्याग्रह संघर्ष समितिले आगामी जुलाई २ तारिखभित्र वार्ता मिति नतोकिए जुलाई तेस्रो सातादेखि फेरि आमरण अनशन बस्ने चेतावनी दिएको हो ।
सत्याग्रह समितिले तत्काल वार्ता तय गर्न माग गर्दै सोमबार बेलायती रक्षामन्त्री बेन वालेसलाई अल्टिमेटमसहितको पत्र समेत पठाएको समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए । उनले भने, ‘गोर्खा वार्ताप्रति बेलायत सरकार पूर्ण उदासीन बनेको निष्कर्षमा हामी पुगेका छौं। जुलाई २ तारिखसम्म पनि वार्ता मिति तय हुँदैन भने हामी पुन: आमरण अनसनमा जाने भनेर केन्द्रीय कमिटीको बैठकले निर्णय गरिसकेको छ ।’
वार्ता निश्चित नभएको अवस्थामा जुलाई २१ तारिखदेखि बेलायत र नेपाल दुवैतिर आमरण अनशनसहित संघर्षका कडा कार्यक्रम अघि बढाइने उनले बताए। अबको आमरण अनसन कुनै पनि सम्झौतामा टुंगिन नदिने अठोट सत्याग्रह प्रमुख संयोजक राईले व्यक्त गरेका छन् ।
गोर्खाहरुको मुद्दामा बेलायत सरकारमाथि दबाब बढाउने उद्देश्यले सत्याग्रह समितिका तीन अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घले बेलायती प्रधानमन्त्री कार्यालयअगाडि दुई साता आमरण अनसन बसेका थिए । गोर्खा समस्याको समाधानको लागि बेलायतले सरकारस्तरीय वार्ता प्रतिवद्धता गरेपछि उनीहरुको अनशन तोडिएको थियो ।






