
लन्डन ३ जुलाई २०२२ । ब्रिटिस भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि बेलायत र नेपालबीच सेप्टेम्बरको दोस्रो साता वार्ता हुने पक्का भएको छ ।
बेलायत सरकारले नेपाली राजदूतावासलाई पत्र लेखेर सेप्टेम्बर दोस्रो सातादेखि वार्ता शुरु गर्ने प्रतिवद्धता जनाएको हो ।
जुलाई महिनामा बार्ताको ‘टिओआर’ (टर्म्स अफ रिफरेन्स) तयार गर्ने सेप्टेम्बर १५ मा भित्रमा बार्ता बसेर नोभेम्बरभित्रमा निष्कर्षमा पुग्ने गरी दुवै देशका सरकारी अधिकारीहरुवीच समेत सहमति भएको छ । शनिबार लन्डन दूतावासमा गोर्खा सत्याग्रह संघर्ष समितिका प्रतिनिधिहरुसंगको छलफलमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको भनाई उद्दृत गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले बताए ।
दूतावासको छलफलमा राजदूत आचार्य, उपनियोग प्रमुख रोशन खनाल तथा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, आन्दोलनका अभियान्ता ज्ञानराज राई, बेलायत संयोजक टकबहादुर गुरुङलगायत सहभागी थिए ।






