
लन्डन ५ जुलाई २०२२ । किरात याक्थुङ चुम्लुङ यूकेले जुलाई तेस्रो साता सिसेक्पा तङ्नाम सांस्कृतिक कार्यक्रमको तयारी सुरु भएको जनाएको छ ।
आयोजक कियाचु यूकेले आइतबार बेलुका एक भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी ‘अब भेला होइन मेला पनि’ नाराका साथ हुन लागेको कार्यक्रमको तयारी भइरहेको जनाएको हो । आदिवासी याक्थुङ लिम्बू समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) यसपटक चार हजारभन्दा बढीको सहभागिता रहने आयोजकको दाबी छ ।
लिम्बू पत्रकार संघ यूकेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा बोल्दै कियाचु यूके अध्यक्ष नरवीर आङ्बोले कार्यक्रममा लिम्बू र गैरलिम्बू सबै समुदायको सहभागिता रहने विश्वास व्यक्त गरे । चुम्लुङको आफ्नै जग्गाका रूपमा मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देनमा तङ्नाम गर्न लागिएको उनले बताए । सन् २०१९ मा चुम्लुङ देन उद्घाटन भएपश्चात् पहिलो पटक जुलाई १६ तारिखमा तङ्नाम हुँदैछ । कार्यक्रम कोरोना महामारीका कारण दुई वर्ष स्थगन भएको थियो ।
उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश इजमले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा तङ्नाम हुने जनाए । कार्यक्रममा बेलायतका विभिन्न संघसंस्था र क्षेत्रबाट ६५ बढी विशिष्ट अतिथिहरूले पनि सहभागिता जनाउनेछन् । उनले सदाझैँ तङ्नाममा यूकेव्यापी केलाङ (च्याब्रुङ नाच) र या?लाङ (धान नाच) प्रतियोगिता पनि हुने बताए ।
इभेन्टलाई चुस्त दुरुस्त बनाउन १७ सेक्टर इञ्चार्जहरू पनि खटाइएको छ । २५.३३ एकड क्षेत्रफलमा रहेको चुम्लुङ देनमा खाद्य पेय परिकार, परम्परागत सामग्री र घरेलु उद्योग, व्यापारिक प्रतिष्ठान, सामाजिक संस्थाका स्टलहरू रहनेछन् । नयाँ पुस्ताका लागि भाषा लिपिबारे चेतना जगाउन याक्थुङ यूथ फोरमले छुट्टै स्टल राख्ने जनाएको छ । त्यस्तै, परम्परागत खानपिन, लत्ताकपडा, घरबुना सामग्री, गरगहनाबारे थामेन्दिङ्मा महिला समिति र याक्थुङ माङ्गेन्ना चुम्लुङले छुट्टाछुट्टै स्टलहरू राख्नेछन् ।
यसैगरी, महाासचिव जुरेन्द्र खजुमले वर्षभरिकै सबैभन्दा ठूलो कार्यक्रम भएकोले पनि संयुक्त अधिराज्य (यूके) मा रहेका चारवटै राज्यबाट सहभागिता जनाउन सबैलाई अनुरोध गरे । उनले नयाँ र पुराना पुस्ताको संगम स्थल तङ्नाम हुने भएकोले पनि कार्यक्रमलाई अवसरका हिसबाले सदुपयोग गर्न आग्रह गरे ।
सो अवसरमा उच्च शिक्षा हासिल गरेका युवाहरूलाई सम्मान र चुम्लुङको खेलकुद कार्यक्रममा योगदान दिने एक जनालाई यलम्बरहाङ अवार्ड, सबैभन्दा सक्रिय चुम्लुङकर्मीलाई चुम्लुङ अवार्ड र कला सँस्कृतिमा महत्वपूर्ण योगदान दिने एक जनालाई आर्टिस्ट अफ दी यर समेत घोषणा गरेर पुरस्कृत गरिने महासचिव खजुमले जनाए ।
सिसेक्पा तङ्नाम प्रत्येक वर्ष साउन एक गते नेपालको लिम्बुवान क्षेत्रसँगै विदेशमा रहेका याक्थुङ बाहुल्य क्षेत्रमा उल्लासपूर्वक मनाउने गर्दछन् । यो पर्वलाई गाउँघरमा अनिकाल भगाउने र सहकाल भित्र्याउने पर्वका रूपमा लिने गरिन्छन् ।
लिम्बु पत्रकार सङ्घ यूकेका अध्यक्ष अमित थेवेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल र उपाध्यक्ष प्रमिला लाबुङ राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके अध्यक्ष गोमा राना मगर, सचिव लीला सेलिङ माबो, नेफिन यूके महासचिव विमला सेने, नेपाल मामिला डटकमका प्रधान सम्पादक खुसी तावा लिम्बू, याक्थुङ–खस द्वैभाषिक पत्रिका थोदिमका सम्पादक छत्र वनेमसहितका सञ्चारकर्मी सहभागी थिए । त्यस्तै, चुम्लुङका तर्फबाट उपाध्यक्ष अमृता पालुङ्वा, सहकोषाध्यक्षहरू जीवन प्यारा मादेन, नर सवेन्हिमको समेत उपस्थिति थियो ।






