
लन्डन ६ जुलाई २०२२ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको स्रोत बन्न सक्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको १० औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री कार्कीले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिहरुलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारहरुले खेलेको भूमिकाको प्रति प्रशंसा गरेका छन् । शुभकामना सन्देशमा विदेशमा व्यस्त समयको समेत प्रवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्व समुदायसमक्ष जीवन्त राख्ने योगदान सकारात्मक भएको उल्लेख छ ।
कार्कीले नेपाली संचारमाध्यमले खेलेको भूमिकाबाट नेपाल–बेलायत सम्बन्धमा समेत अझ सुदृढ र बलियो भएको भन्दै गैरआवासीय नेपालीहरुका गतिविधि, भूतपूर्व गोर्खाहरुको आन्दोलन र नेपाल–बेलायत सम्बन्धका गतिविधिहरुलाई समेटेर आमजनसमुदायलाई सुसूचित गर्न थप उत्साह मिल्ने बताए।
नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १० औं वार्षिकोत्सव आइतबार लन्डनमा आयोजना हुँदैछ । समारोहमा बेलायतस्थित विभिन्न सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ । सोही अवसर शाखाका संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रमतय गरिएको छ ।






