
लन्डन ९ जुलाई २०२२ । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्वय खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ । पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिसको आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ ।
हिमालखबरमा प्रकाशित ‘बेलायती गोर्खा सैनिक अब आफ्नो कथा, आफ्नै कलम’ शीर्षकको स्टोरीका लागि रानाभाट तथा कान्तिपुरमा प्रकाशित ‘बेलायतका विमानस्थलबाट फर्काइँदै नेपाली विद्यार्थी’ शीर्षकको स्टोरीका लागि पोखरेललाई पुरस्कार सिफारिस गरिएको हो । पुरस्कारका लागि छनोट भएका दुवै पत्रकारलाई सम्मानपत्रका साथ २ सय ५१ पाउन्ड नगदसहित पुरस्कृत गरिने छ ।
आइतबार लन्डनमा आयोजना हुने शाखाको दसौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा पुरस्कार वितरण गरिने जनाइएको छ । पुरस्कारका लागि सिफारिश हुने रानाभाट पत्रकार महासंघ बेलायत शाखाका वर्तमान सचिव हुन् । पछिल्लो समय हिमालखबरका लागि बेलायतबाट रिपोर्टिंग गर्दै आएका उनी युरोपबाट सञ्चालित नेपाली वेभका सम्पादक पनि हुन् ।
त्यस्तै, पुरस्कारका लागि छनोट हुने पोखरेल विगत डेढ दशक बढिदेखि बेलायतका लागि कान्तिपुर संवाददाताका रुपमा सक्रिय छन् । बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधान सम्पादक रहेका उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्षसमेत हुन् । पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद् पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसकेका छन् ।
यस वर्षको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ छनोटका लागि शाखाका सल्लाहकार भगीरथ योगी, प्राध्यापक डा तेजेन्द्र फेराली, डा ओम गौतम, संगीता मरहट्ठा र डा सुमाया राई सम्मिलित पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिमा संयोजकको भूमिका योगी र डा फेरालीले गरेका थिए।
पुरस्कारका लागि प्राप्त आवेदनहरुको मूल्यांकनपछि छनोट समितिले उत्कृष्ट स्टोरीका आधारमा शाखालाई सिफारिस गरेको हो । समितिको सिफारिशमा एक र दुई नम्बरमा परेका स्टोरीलाई संयुक्तरुपमा पुरस्कार दिने निर्णय गरिएको शाखाले जनाएको छ । शाखाले गत वर्ष स्थापना गरेको पुरस्कार पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गरेका थिए ।






