लन्डन १० जुलाई २०२२ । चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा बेनकुमार गुरुङ चयन भएका छन् ।
शनिबार ९ जुलाई २०२२ का दिन अल्डरसटस्थित एम्पायर हलमा भएको समाजको अधिवेशनबाट गुरूङ सर्वसम्मत चयन भएका हुन् । उनी तमुधिं यूके लन्डन इकाईका उपाध्यक्ष पनि हुन् ।
पहिलो सत्रको कार्यक्रममा समाजका विविध विषयहरुमा छलफल गरिएको थियो भने सोही अवसरमा क्या. कृष्णबहादुर गुरुङको संयोजकत्वमा मे. कृष्णबहादुर गुरुङ र तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङसहितको तीन सदस्यीय विधान संशोधन कमिटी गठन पनि गरिएको छ । अध्यक्ष मदनप्रसाद गुरुङले आफ्नो तीन वर्षे कार्यकाल सफल हुनुमा कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु तथा सम्पूर्ण चारभन्ज्याङवासी इस्टमित्र आफ्ना आफन्तजन दाज्युभाइ दिदीबहिनीहरुको साथ सहयोग र सुझाव सल्लाहको कारण भएको भन्दै सबैलाई धन्यवाद दिएका थिए ।
अन्तमा संस्थाको आगामी जुलाइ ३० तारिखमा हुने डिनर नाइट कार्यक्रममा अध्यक्षको औपचारिक कार्यभार आदनप्रदान गरिने गरी पाचौं कार्यसमिति भंग भएको घोषण गरिएको थियो । त्यसपछि भने बन्दसत्र संचालन निर्वाचन मण्डलका अध्यक्ष क्या. कृष्णबहादुर गुरुङले गरेका थिए । निर्वाचन मण्डलमा चारभन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष ह. ले. चन्द्रबहादुर गुरुङ र चारभन्ज्याङ तमु समाज हङकङका पूर्वअध्यक्ष कृष्ण घले रहेका थिए । केही समयको छलफलपछि संस्थाको छैटौं कार्यसमितिको घोषण गरिएको थियो ।






