
लन्डन १८ जुलाई २०२२ । गल्कोट समाज यूकेको छैठौँ वार्षिक भेला यही जुलाई २५ तारिख सोमबार मिडल्यान्डको बर्मिङहममा हुने भएको छ।
बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा झन्डै आधा दर्जन राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रमका साथ भेला गर्न लागिएको हो।
समाजका महासचिव विष्णु चालिसेका अनुसार राष्ट्रिय कलाकारहरुका अलावा गल्कोटे पञ्चेबाजा, गल्कोटे सोरठी नाच, तीज नाच, भजनलगायतका सांस्कृतिक प्रस्तुति कार्यक्रमका विशेष आकर्षण छन्।
त्यसबाहेक मनोरञ्जनात्मक कमेडी र आकर्षक पुरस्कारसहितको राफल ड्र जस्ता कार्यक्रम पनि रहनेछन्।
कार्यक्रममा अहिले बेलायतमै रहेका लोकदोहोरीका चर्चित कलाकारहरु अनुपा थापामगर, रेशम निर्दोष, अस्मिता डल्लाकोटी, शान्तिरानी परियार, विशाल रायमाझीलगायतले विभिन्न गीतसंगीत र लाइभ दोहोरी प्रस्तुत गर्नेछन्।साथमा डिजे हेम विष्टले पनि नचाउनेछन्।
त्यस अवसरमा बेलायतमा विभिन्न डिग्री हासिल गर्ने नयाँ पुस्ताका गल्कोटेहरुलाई सम्मान कार्यक्रम पनि छ।
अपरान्ह ४ देखि राती १० बजेसम्म कार्यक्रम निर्धारित छ। कार्यक्रम हेर्न वयस्कलाई १५ र बालबालिकालाई ८ पाउन्डको टिकट लाग्नेछ। उक्त शुल्कबाटै सहभागीहरुलाई डिनर समेत व्यवस्था गरिनेछ।






