जयराम तामाङ
लन्डन । नेपाली एसोसिएसन वेल्सायरको आयोजनामा यही जुलाई २३ तारिख शनिबार फूटबल खेल भव्यताका साथ सम्पन्न भएको छ ।
स्वीन्डनस्थित न्यु कलेजको खेल मैदानमा आयोजित प्रतियोगितामा भेट्रानतर्फ ९ टिम र युथहरुको टिमबाट २० वटा समूहले भाग लिएका थिए । उक्त खेलमा बेलायतका विभिन्न सहरहरुबाट सहभागी भएका थिए ।
भेट्रान ए बाट पाँच समूहले भाग लिनुपर्नेमा लमजुङ समाज एफसीको उनुपस्थिति भएपछि ४ समूहले मात्रै प्रतिस्पर्धा गरेको थियो । गैर नेपाली रेफ्रीहरु भएको फुटबल खेल कुनै पनि विवाद अनि दुर्घटनाबिना सभ्य अनि अनुशासित तरिकाले सम्पन्न भएको थियो । भविष्यमा नेपालीहरुले पनि स्थानीय टिम अनि राष्ट्रिय टिमहरुमा खेल्ने मौका र सक्षम भएको होस् भनि आयोजना गरेको खेलमा अतिथिको रुपमा स्वीन्डन बरो काउन्सिलका मेअर अमिन अब्दुल र उनको श्रीमती, एमपी रोबर्ट बक्ल्याण्ड, गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) का अध्यक्ष प्रेम गाहामगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायत विभिन्न संघ संस्थाका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
भेट्रान तर्फबाट फाइनल खेलमा हिमालयन एफसीले ब्रिग्रेड ब्वाइजलाई पराजित गर्दै उपाधि हात पार्यो । भेट्रानतर्फबाट विजेतालाई हजार पाउण्ड नगद तथा मेडल र रनरअप तथा दोस्रो हुनेलाई ६ सय नगद तथा मेडल वितरण गरिएको थियो । भेट्रान समूहबाट बेस्ट प्लेअर खुम गुरुङ घोषित भए ।
युवा समूहबाट संजय थापालाई बेस्ट प्लेअर घोषणा गरिएको थियो । युवाहरुको समुहबाट फाइनल खेलमा ब्रिगेड ब्वाइजले रेडिङ्ग युनिटीलाई पराजित गर्दै उपाधि हात पारेको थियो । युवाहरुको समूहबाट विजेता हुनेलाई पन्ध्र सय पाउण्ड नगद तथा मेडल वितरण गरेको थियो भने रनर अप तथा दोस्रो हुनेलाई हजार पाउण्ड तथा मेडल वितरण गरेको थियो ।
आर्थिक तथा भौतिकरुपमा सहयोग गर्ने विभिन्न संघ संस्थाका प्रतिनितिधिहरुलाई नेपाली समाज वेल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङले खादा लगाई प्रशंसा पत्र दिएका थिए ।
समाजका सचिव भवानी गुरुङले कार्यक्रम संचालन गरेको थियो । विभिन्न किसिमको खानको परिकारहरुको स्टल र कपडाको स्टल पनि फुटबल खेल्ने मैदानको छेउछाउमा राखिएका थिए ।







