[clear]

नगेन्द्र नेम्वाङ
लन्डन ३० जुलाई २०२२ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले विभिन्न कार्यक्रमसहित २८ औं विश्व आदिवासी दिवस मनाउने भएको छ ।
शुक्रबार २९ जुलाईका दिन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी नेफिन यूकेले आउँदो १४ अगस्टमा अल्डरसटमा आदिवासी दिवसका अवसरमा कार्यक्रम आयोजना हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै रुपरेखासमेत सार्वजनिक गरे ।
कार्यक्रममा बेलायतमा रहेका १४ वटा जातीय संस्थाहरुको जातीय झाँकी प्रदर्शन र सबै संघसंस्थाहरुलाई महासंघले सम्मान गर्ने अध्यक्ष शेर्पाले जानकारी दिए । कार्यक्रमको मुख्य उद्देश्य विश्वभरि छरिएर बसेका उत्पीडित जनजातिहरुको आवाजलाई बुलन्द गर्ने पनि महासंघका अध्यक्ष शेर्पाले बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष धुव्रराज अर्याल, निवर्तमान महासचिव खुशी लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके) का पूर्वअध्यक्ष विश्वासदीप तिगेलाले कार्यक्रमको सेरोफेरवमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ अध्यक्ष शेर्पा र महासचिव बिमला सेनेले दिएका थिए ।
त्यस अवसरमा नेपालको प्रदेश नम्बर १ को नामकरणका लागि महासंघले प्रेस विज्ञप्तिमार्फत आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको र उक्त विज्ञप्ति युवा महासंघका संयोजक एवं लिम्बु पत्रकार महासंघ बेलायतका अध्यक्ष अमित थेबे लिम्बुले पढेर सुनाएका थिए ।
कर्मा पहाडी शेर्पाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा फोनिज यूकेकी अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव सेनेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।






