
फाइल तस्बिर
पूर्ण गुरुङ
लन्डन ४ अगस्ट २०२२ । पोखरेली मञ्च युकेले नेपालको पर्यटन प्रवर्द्धनका लागि “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्रा गर्दैछ । आउँदो शनिबार अगष्ट ६ तारिकका दिन वेल्स राज्यको ब्रेकनस्थित “पेन वाई फेन” डाँडामा करिब ८ किमि पदयात्रा गर्न लागेको हो । मञ्चले सन् २०१७ सालदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको पदयात्रा कोभिड–१९ का कारण गत दुई रोकिएको भएता पनि यसवर्ष देखि पुन: शुरुवात गर्न लागेको हो ।
नेपाल पर्यटन विकासको प्रचुर संभावना बोकेको देश हो, जहाँ विश्वको सर्वौच्च शिखर सगरमाथालगायत ८ हजार मिटरभन्दा बढी अग्ला ८ वटा हिमश्रृखंलाहरु पर्दछन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल, हिन्दूहरुको पवित्र स्थल पशुपतिनाथ मन्दिर, जानकी मन्दिरलगायत थुप्रै गुम्बा, चैत्य, मठ तथा मन्दिरहरु संगसंगै थुप्रै नदिनाला, तालतलैया, निकुञ्ज र मनोरम दृश्यले सिंगारिएको देश नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यनुसार पोखरेली मञ्च युके र वि लि राइज नेपाल फाउण्डेशनले “हाईक फर नेपाल” को अवधारणा ल्याएको हो ।
बेलायतमा भूतपूर्व ब्रिटिश गोर्खाज्हरु स्थायी रुपमा बस्न थालेपछि बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि हुनगयो । साथसाथै, नेपाली भाषा, कला तथा संस्कृति संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले थुप्रै जातिय, वर्गिय र क्षेत्रिय संघसंस्थाहरुको स्थापना हुनपुग्यो । सोही क्रममा क्याप्टेन चन्द्रबहादुर पुनको अध्यक्षतामा पोखरेली मञ्च युकेको स्थापना भयो ।
शुरुमा पोखरेली मञ्च युकेले अरु संघसंस्थाहरुले जस्तै भेटघाट कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो । तर, सन् २०१७ सालमा नेपालको पर्यटन प्रर्वद्धनका लागि “हाईक फर नेपाल” अर्थात् नेपालका लागि पदयात्राको शुरुवात गर्दै मातृभूमि नेपालको विकासमा हातेमालो गर्न थाल्यो । बिशेषगरी पोखराबाट बेलायतआई बसेका नेपालीहरुले वेल्स राज्यको ब्रेकनस्थित “पेन वाई फेन” डाँडाबाट पदयात्राको थालनी गरिएको स्मरण गर्दै मञ्चका अध्यक्ष करम गुरुङले भने– ‘सन् २०१८ मा सोही वेल्सस्थित ब्ल्याक माउन्टेन र २०१९ मा सो ब्ल्याक माउण्टेनको अर्को पाटोबाट चढेका थियौं । यसवर्ष भने शुरुको वर्षमा चढिएको “पेन वाई फेन” डाँडामा पुन: चढ्ने कार्यक्रम रहेको छ, । ’
पद यात्राको उद्देश्य:
पोखरेली मञ्च युकेका निवर्तमान अध्यक्ष मान प्रसाद गुरुङले सन् २०१५ सालमा नेपालमा गएको महाभूकम्पले ठूलो जनधनको क्षति गर्यो । मातृभूमिका लागि हामीले पनि केही गर्नुपर्दछ भन्ने लागेर नेपालको पर्यटन प्रर्वद्धनका लागि पद यात्रा शुरु गरिएको स्मरण गर्दै निम्न कुराहरु प्राप्त गर्ने उद्देश्यका साथ हाईक फर नेपाल आयोजना गरिएको जानकारी दिए ।
१. नेपालको पर्यटन प्रबर्द्धनका लागि स्थानीय बेलायतबासी संग नजिकको सम्बन्ध विकास गराउन ।
२. नेपाल प्रतिको दायित्व र सम्बन्ध जोड्न नयाँ पुस्तालाई परिवार तथा स्कुल, कलेज र विश्वविद्यालयमा अध्ययनरत साथीभाइहरु संग नेपाल भ्रमणका लागि प्रेरित गराउन ।
३. नेपाली समुदायमा स्वस्थ्य जीवनशैलीको जानकारी गराउन ।
४. नेपाली समुदायको बाहिरी क्रियाकलाप तथा सहासिक कदमको परिचय गराउन ।
५. नयाँ पुस्तालाई दैवीप्रकोपका घटनाहरुमा सहयोग जुटाउन सहासिक यात्राको पूर्व प्रशिक्षण गराउन ।
हाईकिङ्गको तयारी अवस्था:
आयोजक संस्था पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले दिएको जानकारीनुसार बिशेषगरी ५, ६ र ७ अगष्टका दिन ‘हाईक फर नेपाल’ गर्न लागिएको हो । शुक्रबार ५ अगष्टमा क्याम्पमा भेला हुने, शनिबार ६ तारिकका दिन हाईकिङ्ग गरी क्याम्पमा फर्कने र आइतबार ७ अगष्टका दिन आ–आफ्नो घर फर्कने कार्यक्रम रहेको छ । तर, आफूहरु करिब ३० जना भने तयारीका लागि बिहिबार ४ अगष्टका दिन ब्रेकन जाने छन् ।
सहभागी संख्या र शुल्क:
मञ्चका अध्यक्ष गुरुङका अनुसार, उक्त हाईक फर नेपालमा सहभागी हुनका लागि १५० जनाले नाम दर्ता गराई सकेका छन् भने २५० जनासम्म सो पदयात्रामा सहभागी हुन सक्नेछन् । उक्त पदयात्रामा सहभागी हुनका लागि प्रतिव्यक्ति ३० पाउण्ड प्रवेश शुल्क तोकिएको छ । उक्त प्रवेश शुल्कवापत विमा सुविधा, नि:शुल्क कार पार्किङ्ग र क्याम्पिन गर्न पाउने छन् ।
सहकार्य :
हाईक फर नेपाललाई सफल बनाउनका लागि शुरुदेखिनै मातृभूमिस्थित “वि विल राइज फाउन्डेसन नेपाल” नामक संस्थाले हातेमालो गर्दै आएको छ । पहिलो वर्ष फाउन्डेशनका तुल्सी गुरुङ हङ्गकङ्गबाट सहभागी भएका थिए । त्यस्तै, शुरुको वर्षमा स्थानीय ब्रेकन नेपाली समाज वेल्सले संयोजन गरेको थियो । तर, यसवर्ष भने मञ्च आफैले संयोजन गर्न लागिएको मञ्चका निवर्तमान अध्यक्ष एवं वि विल राइज फाउन्डेसन युके कोर्डिनेटर मान प्रसाद गुरुङले जानकारी दिए ।
अतिथि:
मञ्चका अध्यक्ष गुरुङका अनुसार, उक्त पद यात्रा शुरु हुनुभन्दा अगाडि औपचारिक कार्यक्रम आयोजना गरिदै आएको छ । जहाँ बेलायतका लागि नेपाली राजदूत, स्थानीय एमपी, मेयर, काउन्सिलरलगायत स्थानीय अतिथिहरुलाई आमन्त्रण गरिदै आएको छ । शुरुको वर्षमा बेलायतका लागि तत्कालिन राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय एमपी, मेयर, काउन्सिलहरुको बिशेष उपस्थिति रहेको थियो । तर, यसपटक भने नेपाली दूतावास लण्डन र स्थानीय एमपीहरुको सहभागीता रहने छैन । तथापि स्थानीय ब्रकेनका मेयर तथा काउन्सिलरलगायत स्थानीयहरुको बिशेष सहभागिता हुने छ ।
भोजन तथा बास:
बेलायतका विभिन्न स्थानबाट आएका सहभागीहरुलाई नेपाली खानाको बिशेष व्यवस्था गरिएको छ । उक्त खानाको प्रतिव्यक्ति १५ पाउण्ड तोकिएको छ । साथै, आपैm पनि बनाएर खाना सक्ने मञ्चले जनाएको छ । त्यस्तै, बास बस्नका लागि खुल्ला चौरमा टेन्ट लगाउन सकिने आयोजना पोखरेली मञ्च युकेले जनाएको छ ।
स्मरण रहोस्, पोखरेली मञ्च युके स्वास्थ्यका लागि दौड, पीपल नेपाल कप क्रिकेट प्रतियोगितालगायतका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।






