लन्डन ७ अगस्ट २०२२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार पञ्जीकृत सदस्यहरुको उत्साहजनक उपस्थितिका साथ साधारणसभा सम्पन्न भएको हो । एनआरएनए आइसीसी पूर्व अध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । शेष घले दम्पति हल प्रवेश गर्दा पाइपर धुनले विशेष स्वागत गरिएको थियो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र डा. घलेले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
वार्षिक साधारणसभामा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आफ्नो कार्यसमितिले शपथ ग्रहण गरेको ठिक ३६५ दिनमा वार्षिक साधारणसभा गरेको उल्लेख गर्दै वर्ष दिनमा संघले गरेका गतिविधि र भावी कार्यक्रम सम्बन्धमा वार्षिक प्रतिवेदन स्लाइडमार्फत प्रस्तुत गरे ।
अध्यक्ष गाहामगरले बितेको एक वर्षमा विभिन्न उतारचढाव बाबजुद संघले तेश्रो ग्लोवल हेल्थ कन्फरेन्स, १० अक्टोबरमा अल्डरसटमा आफ्नै कार्यालय उद्घाटन, सुनसरीका ६५० बाढी पीडितलाई १० लाख रुपैयां हस्तान्तरण, यूक्रेन युद्ध पीडित नेपालीलाई ४६ सय पाउण्ड सहयोग, एकसय दिन पुगेको अवसरमा सल्लाहकारहरुलाई सम्मान, नेपालका पर्यटनमन्त्री, शिक्षा मन्त्री, सांसदहरु तथा पूर्व मन्त्रीहरुसंग अन्तरक्रिया र स्वागत, प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालीका हित सवालमा ज्ञापनपत्र, कोभिड महामारीका बेला सचेतना कार्यक्रम, नारी दिवस, राजदूतहरु लोकदर्शन रेग्मी र ज्ञानचन्द्र आचार्यको स्वागत, गोर्खा अनसनमा ऐक्यवद्धता, एनआरएनए डलर अकाउन्टबारे अर्थमन्त्री, गभर्नर लगायतसंग ‘भर्चुअल’ अन्तरक्रिया आदि गरिएको जानकारी दिए ।
गोर्खाको वंशज नागरिकताबारे अन्तरक्रिया, बेलायती रक्षामन्त्रालय र नेपाल सरकारलाई गोर्खा समस्या समाधानका लागि ज्ञापनपत्र, वृद्धवृद्धालाई प्रत्येक सोमबार मनोरन्जन तथा कल्याणकारी कार्यक्रम आदि गरिएको पनि अध्यक्ष गाहामगरले बताए । उनले विभिन्न भावी योजना प्रस्तुत गर्दै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी गराउने आफ्नो प्राथमिकता सुनाए । सोका लागि हालैमात्र गठित स्पोर्टस् कोअर्डिनेशन काउन्सिलले संयोजन गर्ने उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. शेष घलेले प्रेम गाहा नेतृत्वमा एनआरएनए यूकेले गरेका गतिविधि प्रशंसनीय रहेको बताए ।
वार्षिक साधारणसभामा गोर्खाजको वंशजको नागरिकता निरन्तरता विषयक विशेष सेसन पनि आयोजना गरियो । पत्रकार विमला सेनेले मोडरेट गरेको उक्त सत्रमा प्यानलिष्टहरु थिए चन्द्र कार्की, थर्क राना, अरुण शाक्य, प्रेम गाहामगर, काउन्सिलर विष्णु गुरुङ र राष्ट्र राई । प्यानलिष्टहरुले हालै नेपालको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधयेकप्रति असन्तुष्टि जनाए । उनीहरुले त्यो एनआरएन नागरिकता नभई परिचयपत्रको खोस्टोमात्र भएको दावी गरे । उनीहरुले नेपाल सरकारले वंशजको नागरिकता त्याग्न लगाएर प्रवासका नेपालीलाई मातृभूमिबाट टाढा राख्न खोजेको आरोप लगाउंदै विधेयक पारित भएको दिन गोर्खाहरुका लागि कालो दिन भएको टिप्पणी गरेका थिए ।
प्यानलिष्टहरुले वंशजको नागरिकताका लागि आफ्नो आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् । वार्षिक साधारणसभामा एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल (ओबिइ), एनआरएनए यूके पूर्व अध्यक्षहरु डमर घले, योगेन्द्र क्षेत्री, पूर्व महासचिव आर के त्रिपाठी, सल्लाहकार रणबहादुर गुरुङ लगायतले सम्वोधन गरेका थिए ।
एनआरएनए यूके प्रवक्ता भरतमणि चोङवाङले सञ्चालन गरेको उद्घाटन सत्रमा महिला संयोजक विमला लिम्बुले स्वागत मन्तव्य तथा कार्यक्रमको रुपरेखाबारे प्रकाश पारेकी थिइन् । दोश्रो चरणको बन्द सत्रमा अध्यक्षमण्डल बनाइएको थियो । नेफिन यूके अध्यक्ष कर्मा पहाडी शेर्पा संयोजक र अमित थेवे सदस्य सचिव रहेको उक्त समितिमा सुमित्रा राई, आर के त्रिपाठी र मान गुरुङ सदस्य थिए ।
सो सत्रमा महासचिव खुशी लिम्बुले संस्थाको विधि विधान र आचरण विपरित कार्य गरेको भन्ने सम्बन्धमा अध्यक्ष प्रेम गाहामगरले विभिन्न प्रमाण, लिम्बुलाई सोधिएको स्पष्टीकरण र गठित छानविन समितिबारे अवगत गराएका थिए । साधारण सदस्यहरुको राय सल्लाहपछि अध्यक्ष मण्डलले खुशी लिम्बुलाई संस्थामा राखिराख्न उचित नभएको निष्कर्षसहित वर्खास्त गर्ने घोषणा गरेको छ । साथै लिम्बुलाई दुई साताभित्र संस्थाको प्रोपर्टी जस्तै फेसबुक, इमेल, कागजात फर्काउन निर्देशन दिने र नमाने संस्थागत खर्चमै कानूनी लडाईंमा जाने निर्णय साधारणसभाले गरेको छ ।
लिम्बुले संस्थाका अध्यक्ष लगायत अन्य लिडरलाई मानहानी गरेकोमा सार्वजनिक रुपमा माफी मागे साधारणसदस्यता भने यथावत राखिने जनाइएको छ ।






