
नगेन्द्र नेम्वाङ
लन्डन १६ अगस्ट २०२२ । संखुवासभा समाज सेवा बेलायतको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख अथिति नैनसिङ गुरुङ र अध्यक्ष उत्तर बर्देवाले संयुक्तरुपमा दीप प्रजलन गरी उद्घाटन गरे । नेपालको राष्ट्रिय गीत बजाएर मातृभूमि नेपाललाई स्मरण गरे । विगत संक्रमणकालमा ज्यान गुमाएका आफ्ना समाजका सदस्यहरुलाई सम्झना सम्मान गर्दै एक मिनेट मौनधारण गरेका थिए ।
कार्यक्रम अवधिभरिमा केही आपतकालीन समस्या आइपरेमा अपनाउनुपर्ने सुरक्षासम्बन्धी जानकारी संस्थाका उपाध्याक्ष टेक कुलुङ राईले दिए । वरिष्ठ उपाध्यक्ष हेमाकला गुरुङ रानाले कार्यक्रमलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजका सफल व्यवसायी शैक्षिक क्षेत्रमा ग्राजुएसन मास्टर्स गर्ने भान्जाभान्जीहरुलाई प्रशंसापत्र प्रदानसहित खादा ओडाएर सम्मान गरेका थिए ।
अथितिहरु धनकुटा समाज सेवा यूकेबाट सल्लाहकार अमरबहादुर राना, तेह्रथुम समाज सेवा यूकेबाट अध्यक्ष मोहन लिम्बु, पाँचथर समाज सेवा यूकेबाट सल्लाहकार नगेन्द्रराज नेम्वाङ, ताप्लेजुङ समाज सेवा यूकेबाट अध्यक्ष बुद्धिमान दर्नाल, फल्केस्टनका काउन्सिलर नबिन सिवा समेतको उपस्थिति रहेको थियो ।
प्रमुख अथिति गुरुङले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष बर्देवाले कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा कलाकार सुरक्षा राना, कल्पना तेयुङ लिम्बु र रोजिना गुरुङले पुर्बेली लोकगीतमा नृत्य प्रस्तुत गरेर माहोललाई भरपुर मनोरञ्जन गराएका थिए भने पूर्वअध्यक्ष जीवनप्रकाश राईले यो दाजुको मिर्मिरे आँखा, रेसम फिरिरीलगायत विभिन्न भाकाको सारङी रेटेका थिए । पूर्वअध्यक्ष विजय लिङ्ग्थेपले राफल ड्र खेलाएर मनोरन्जन गराएक थिए ।
सांस्कृतिक सचिव प्रशान्त घलेले विभिन्न लोकगीत राष्ट्रिय गीत गाएका थिए भने साहित्यकार एवं म्युजिसियन सेमन्त राईले विभिन्न लोकभाकाको धुनमा बाँसुरी बजाएर मनोरन्जन दिलाएका थिए ।
उत्तर बर्देवाको अध्यक्षताम सप्पन्न वार्षिक औपचारिक कार्यक्रम महासचिव कमल गुरुङले सन्चालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक सचिव दीपा गुरुङ र गायक प्रशान्त घलेले संयुक्तरुपमा सन्चालन गरेका थिए ।







