लन्डन २८ अगस्ट २०२२ । तमुधिं यूके र नेपाली दूतावास लन्डनको सहकार्यमा आइतबार बेलायतको केम्पर्टन पार्कमा हुने १३ औं नेपाली मेला तयारी सकिएको छ ।
आयोजक संस्थाका कार्यसमिति सदस्य, ईकााई पदाधिकारीसहित शनिबार बिहान नै देखि खटिएर तयारी सम्पन्न गरिएको अध्यक्ष हित काजी गुरुङले जानकारी दिए । उनले नेपाली मेलाको आयोजक तमुधिं यूके भए पनि यो साझा भएकोले बेलायतमा रहेका नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिन आग्रह गरे ।
कार्यक्रममा यसपटक इडिया, बंगलादेश, पाकिस्तान, श्रीलंकाका कूटनीतिज्ञहरु पनि आउने जानकारी गराउँदै अध्यक्ष गुरुङले कर्मभूमिमा भए पनि आफूहरुले नेपाली संस्कार, संस्कृति देखाउन पाउँदा निकै गौरव लागेको बताए । कार्यक्रमस्थलमा कार्डको व्यवस्था नभएकोले नगद पैसा लिएर आउन पनि उनले आगन्तुकलाई आग्रह गरे ।
कार्यक्रममा बेलायत भ्रमणमा नेपालबाट आएका चर्चित १० पत्रकारसमेत सहभागी हुनेछन् । नेपाली मेला तमुधिं यूकेले २००९ देखि नै निरन्तर गर्दै आएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाको झाँकी, नृत्य देख्न पाइनेछ । यसपटक गतवर्षको तुलनामा दोब्बर संघ संस्थाले साथ दिएको अध्यक्ष गुरुङले बताए ।
शनिबार मेला तयारीका सहभागीलाई तमुधिं यूके आमा समूह लन्डन इकाईले खाजाखानाको व्यवस्था गरेको थियो ।

















