इम्बुङका अपाङ्गता भएकालाई सहयोग गर्न राफल ड्र खेलाइयो
नगेन्द्र नेम्वाङ
लन्डन (अल्डरसट) १५ अक्टोबर २०२२ । किरात याक्थुङ चुम्लुङ युके रसमूर शाखाले लिम्बूहरुको महान् पर्व बलिहाङ तङ्नाम (तिहार) भव्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
प्रमुख अथिति खगेन्द्र लावती, विशेष अथिति कल्पना आङ्बुहाङ र अध्यक्ष भगिस्वर फागो चोङ्बाङले संयुक्तरुपमा दिप प्रज्ज्वलन गरी तङ्नामको उद्घाटन गरे । विगत कोरोना भाइरस महामारीको समयमा संस्थाले गुमाएका दिवंगत सदस्यहरु र हालै निधन हुनु भएकी संयुक्त राष्ट्र संघ बेलायतका बडामहारानी एलिजावेथ द्वितीयलाई सम्झना सम्मान गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रम अवधिभरिमा केही आपतकालीन समस्या आइपरेमा अपनाउनुपर्ने सुरक्षासम्बन्धी जानकारी संस्थाका सचिव कृष्ण योङ्हाङ्ले दिए । उपाध्यक्ष शम्सेर वनेमले बलिहाङ तङ्नामको बारेमा प्रस्ट्याउँदै स्वागत मन्तव्य राखेका थिए । उपाध्यक्ष मोति मेन्याङ्बोको नेतृत्वमा नाम्लिङेक लारिङेक भट्याउने आशीष दिने कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थापक अध्यक्ष लिला सेलिङ माबो र प्रमुख अथिति लावतीले शुभकामना मन्तव्यको क्रममा यूकेमा रहेका अनगिन्ती चुम्लुङ शाखाहरुमध्ये रसमूर शाखा एक सक्रिय रहेको प्रशंसा गर्दै अगामी दिनहरुमा पनि निरन्तर सफलताको शुभकामनासहित बलिहाङ तङ्नाम कार्यक्रम सफलताको शुभकामना दिए । केन्द्रका महासचिव जुरेन्द्र खजुम, कोषाध्यक्ष दिपेन्द्र याक्सो, संस्थापक अध्यक्ष लिला सेलिङ माबो, पूर्वअध्यक्ष जितप्रकाश मेन्याङ्बो समेतको उपस्थिति रहेको थियो ।
अध्यक्ष चोङबाङले रससूरवासी लिम्बूहरु धेरैभन्दा धेरै सदस्यता नवीकरण गर्न आग्रह गर्नुका साथै शाखाले खरिद गरेको घर प्रोपर्टीको बारे र अर्को प्रोपर्टी पनि खरिद गर्न लागेको जानकारी पनि गराए । कार्यक्रम सफल पार्न हरक्षेत्रबाट खटिएका कार्यसमितिका साथीहरु र उपस्थित सबैलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रम संयोजनका लागि सफल व्यवसायीहरु साझा स्टेट एजेन्ट डाइरेक्टर जितप्रकाश मेन्याङ्बो NAM BPI ग्रुप/ NAM मोर्ट्गेजेसका डाइरेक्टर शान्ति लिम्बू, BUSYBEE इन्टरटेन्टमेन्ट यूकेका निर्देशक रोमियान वनेम लिम्बू र YOGA HIMALAYAN & REKIE MEDITATION UK का डाइरेक्टर एवं योग प्रशिक्षक नगेन्द्र नेम्वाङले आर्थिक प्रायोजन गरेका थिए ।
तङ्नामको अवसरमा संस्थापक अध्यक्ष लिला सेलिङ माबोलाई अङ्रेजी र नेपाली संस्करणमा पुस्तक प्रकाशन गरेकोमा संस्थाले प्रशंसापत्र प्रदान गरी खादा ओडाइ सम्मान गरेको थियो । त्यसैगरी शैक्षिक क्षेत्रमा ग्रजुएसन गर्नेहरु तान्छो लिम्बू, सिलिया माबोलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा उपाध्यक्ष रोमियान वनेमले भैलिनी गीतमा र आशा लिम्बूले नेपाली गीतमा नृत्य प्रदर्शन गरी माहोललाई मनोरन्जनात्मक बनाएका थिए भने च्याब्रुङ कलाकारहरु अमृत तुम्बाहाङ्फे, जगतबहादुर इस्बो, भवानी लिम्बू, नगेन्द्र नेम्वाङ, सेसेहाङ इवा अयुशा लिम्बूहरुले संयुक्तरुपमा च्याब्रुङ नृत्य प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।
कार्यक्रमलाई थप मनोरन्जनात्मक र पूर्व पाँचथर फाल्गुनन्द इम्बुङमा रहेका पाँच जना अपाङ्गहरुलाई आर्थिक सहयोग गर्नका लागि सल्लाहकार नगेन्द्र नेम्वाङले राफल ड्र खेल खेलाएका थिए । राफल ड्रका विभिन्न पुरस्कारहरु नगेन्द्र नेम्वाङले र केही नगद पुरस्कार उपाध्यक्ष रोमियान वनेम तथा कोषाध्यक्ष थानकुमार नाल्बोले प्रायोजन गरेका थिए ।
भगिश्वर फागो चोङबाङको अध्यक्षतामा सम्पन्न तङ्नाम कार्यक्रम सचिव कृष्ण योङ्हाङ्ले सन्चालन गरेका थिए ।






