लन्डन २० अक्टोबर २०२२ । नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव स्व. डा. ओम गुरुङको सम्झनामा बेलायतमा २९ अक्टोबरमा शोकसभा हुने भएको छ ।
डा. गुरुङको सम्झनामा भर्चुअल शोकसभा आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले एभरेस्ट टाइम्सलाई जानकारी दिए । उनका अनुसार स्थानीय समयअनुसार शोकसभा बेलुकी ७ बजे सुरु हुनेछ ।
शोकसभा आयोजनामा नेपाल आदिवासी जनजाति महिला महासंघ यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके
र नेपाल आदिवासी जनजाति युवा महासंघ यूकेले समेत साथ दिएका छन् ।
पहिचानवादी नेता तथा मानवशास्त्री डा. ओम गुरुङको ६८ वर्षको उमेमरमा सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो । उनको बिहीबार अन्त्येष्टि गर्ने कार्यक्रम छ । उनमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार गर्दागर्दै निधन भएको हो ।
त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका डा. गुरुङको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए ।






