
लन्डन २१ अक्टोबर २०२२ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थामा अवैधानिक क्रियाकलाप गरेर भ्रम फैलाउनेविरुद्ध कानुनी लडाइँ लड्ने जनाएको छ ।
उपाध्यक्ष सुनीलबाबु खड्काले घोटाला ढाकछोप गर्न अध्यक्ष बनेको अवैधानिक रुपमा स्वघोषणा गरी भ्रम फैलाएको भन्दै कानुनी लडाइँ लड्ने उपाध्यक्ष तथा प्रवक्ता भरतमणि चोङबाङले जानकारी गराएका हुन् ।
‘नक्कलीपत्रकै आधारमा आर्थिक घोटलामा परेर बर्खास्तमा परेका उपाध्यक्ष सुनिलबाबु खडकाले घोटलालाई ढाकछोप गर्न कोठे बैठकमा बसेर आफै अध्यक्षमा स्वघोषणा गर्ने र प्रेम गाहामगरसँग अध्यक्षमा पराजित भएका दीपक श्रेष्ठले पनि त्यही स्वघोषणाको उपाध्यक्षमा रहनुले जनमतको खिल्ली समेत उडाएको छ,’प्रवक्ता चोङबाङले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष पदमुक्त भयो भनेर नक्कली कागज बनाएर संस्था कब्जा गर्न खोज्ने भ्रम सिर्जना गर्ने अवैधानिक क्रियाकलाप गरेकोमा हामी कानुनी लडाइँ र संस्थाभित्र विधि विधान र पद्वतिहरू स्थापति गर्नमा लागिरहेका छौं ।’
अध्यक्ष गाहामगर पदमुक्त भएको भनेर समाजमा भ्रम फैलाउनेका निम्ति वर्तमान एनआरएनए आईसीसीका अध्यक्ष रविना थापाको भनाइले प्रस्ट हुने प्रवक्ता चोङबाङले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘थापाले प्रेम गाहामगरलाई पदमुत्त भएको आफूलाई जानकारी नभएको, एनसीसी खारेजी र पदमुक्त गर्न सक्ने आईसीसीसँग कुनै कानुनी र वैधानिकता अधिकार नभएको भन्ने अभिव्यक्तिले महाधिवशन निर्वाचित अध्यक्षमाथि कसैले हटाउन र पदमुत्त गर्न सक्छ भन्ने स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ता चोङबाङले उपाध्यक्षलगायतले समाजमा भ्रम फैलाउने काम गरेकोले त्यस्तो भ्रममा नपर्न बेलायतबासी नेपाली र आधिकारिक नभएका त्यस्ता व्यक्तिहरूद्वारा स्वघोषणा प्रचारलाई समेत समाचार बनाउने सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।







