लन्डन, २३ अक्टोबर २०२२ । एभरेष्ट टाइम्स यूकेका संस्थापक सम्पादक तथा वर्तमान सल्लाहकार हरिकुमार गुरुङ काजीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले सम्मान गर्ने भएको छ ।
फोनिज यूकेप्रति पुर्याएको योगदान र पत्रकारितामार्फत विशेष योगदान दिएको भन्दै गुरुङलाई सम्मान गर्ने निर्णय भएको फोनिज यूकेका अध्यक्ष गोमा राना र सचिव लीला सेलिङ माबोले शुक्रबार २१ अक्टोबरमा विज्ञप्तिमार्फत जनाएका छन् । गुरुङ आदिवासी जनजातिसहित उत्पीडित समुदायको मुद्दालाई प्रखर रुपमा उठाउँदै बेलायतमै उत्कृष्ट बन्न सफल एभरेष्ट टाइम्स सञ्चालनमा ल्याउन ठूलो भूमिका खेलेका छन् ।
यस्तै फोनिज यूकेले यस वर्ष पत्रकार अमित थेवेलाई पुरस्कृत गर्ने भएको छ । थेवेलाई नगद राशिसहित ‘फोनिज पत्रकारिता पुरस्कार’ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । थेवे लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष हुन् ।
पुरस्कार र सम्मान आउँदो नोभेम्बर ५ तारिखमा अल्डरसटमा हुने फोनिज यूकेको वार्षिक साधारणसभामा वितरण गरिने जनाइउको छ ।







