लण्डन अक्टोबर २४ ।

ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।
बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेका बीसीले जनाएको छ । कन्जर्भेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिए ।
गएको हप्ता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार आज सोमवार ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणापछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।
पूर्व अर्थमन्त्री सुनक भारतीय मूलका बेलायती हुन् । सुनकले भोलि मङ्गलवार आधिकारिकरूपमा प्रधानमन्त्रीको पद सम्हाल्न सक्ने बीबीसीले जनाएको छ ।






