
बघेता समाज युकेको अध्यक्षमा सुब घले
लन्डन । बाघेता (बाहुनडाँडा घेर्मु ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिवार ३ डिसेम्बरका दिन हेक्स्हाम कम्युनिटी सेन्टर रिडिङमा सम्पन्न अधिवेशनले ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । उक्त नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेम गुरुङ, सचिवमा तेज घले, कोषाध्यक्षमा सुरेन्द्र घले, सदस्यहरुमा दिल माया गुरुङ, रामकाजी गुरुङ, प्रिति घले, परास गुरुङ (राजु) युवा सदस्य र दीपक घले प्रोपर्टी सदस्य रहेका छन् ।
समाजका अध्यक्ष क्याप्टेन देब घलेको अध्यक्षतामा सम्पन्न उक्त १३ औं साधारणसभाको पहिलो चरणमा विविध बिषयमा छलफल भएको थियो । सो साधारणसभामा अध्यक्ष क्याप्टेन घलेले ११ बर्ष देखि कार्यसमितिको नेतृत्व गरेको बताउँदै आफ्नो लामो कार्यकालमा कार्यसमितिलाई साथ, सहयोग, सल्लाह र सुझाव दिनुहुने सबै समाजका सल्लाहकार, कार्यसमिति, आमाहरु र सदस्यहरुलाई धन्यवाद दिए । साथै, उनले उक्त साधारणसभाले पाँचौं कार्यसमिति चयनका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण गुरुङ प्रमुख निर्वाचन आयुक्त, सल्लाहकार कृष्ण घले र सल्लाहकार कर्ण गुरुङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको बताउँदै आपूmले अध्यक्षता गर्दै आएको चौंथो कार्यसमिति विघटन भएको जानकारी गराए ।
उक्त कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई अगाडि बढाउदै सुब घलेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको बताउँदै अध्यक्षलगायत सबै नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिए । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुब घलेले सबैको साथ, सहयोग, सुझाव र सल्लाहको अपेक्षा गर्दै सबैमा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको अन्त्यमा बेलायतका विभिन्न स्थानबाट सहभागी भएको बाघेता समाज युकेका सदस्यहरुले नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिदैं लाहुरे काइदाको मेसीङको भोजन ग्रहण गरे ।
स्मरण रहोस्, बाघेता समाज युके लमजुङ जिल्लाको बाहुनडाँडा घेर्मु ताघ्रिङ पुख्र्यौली घर भई हाल बेलायत बसोबास गर्ने वडावासीहरुले सन् २०१० मा स्थापना गरेको सामाजिक संस्था हो । स्थापना कालदेखि प्रत्येक बर्ष बेलायतमा बार्षिक भेटघाटलगायतका कार्यक्रमहरु गर्दै आएको समाजले आफ्नो गाउँमा १ वटा एम्बुलेन्स खरीद गरी प्रदान गरिसकेको छ भने स्थानीय प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयलाई आर्थिक सहयोग र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको निवर्तमान अध्यक्ष क्याप्टेन देब घलेले जानकारी दिए ।







