
प्रेस-विज्ञप्ती
१५ डिसेम्बर २०२२ – नेपाली राजदूतावास, लण्डन।
भूतपूर्व गोर्खाहरुको मागका सम्बन्धमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका प्रतिनिधिहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुबीच बेलायतको रक्षा मन्त्रालयमा आज अर्को प्राविधिक स्तरको वार्ता सम्पन्न भयो । उक्त वैठकमा भूतपूर्व गोर्खाहरुको औषधी उपचार, शिक्षा, रोजगारी लगायतका अन्य कल्याणकारी विषयहरुमा (Welfare Issues) मा विहानी सत्रमा छलफल भएको थियो भने दिवा सत्रमा अघिल्लो चरणमा बाँकी रहेका पेन्सन सम्बन्धी विषयहरुमा विस्तृत रुपमा छलफल भएको थियो । वैठकमा नेपाली पक्षले उठाएका मागहरुका सम्बन्धमा रक्षा मन्त्रालयका पदाधिकारीहरुले आगामी दिनमा थप छलफलका लागि आफुहरु तयार रहेको जनाउनु भएको थियो। आगामी वैठक सरकारी संयन्त्रमार्फत छिट्टै जानकारी गराउने सहमति भएको छ ।
उक्त छलफलमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार र द्वितीय सचिव श्री रामबाबु नेपाल सहभागी हुनुहुन्थ्यो भने भूतपूर्व गोर्खाहरुका तर्फबाट मेजर(अ.प्रा.) जुदबहादुर गुरुङ, मेजर (अ.प्रा.) टिकेन्द्र दल देवान, मेजर (अ.प्रा.) उदयबहादुर गुरुङ, श्री केशबहादुर गुरुङ र श्री धर्म बहादुर तामाङ सहभागी हुनुहुन्थ्यो । त्यसैगरी, बेलायत सरकारका तर्फबाट बेलायतको रक्षा मन्त्रालय एवं अन्तर्गतका निकायका विभिन्न पदाधिकारीहरु सहभागिता जनाउनु भएको थियो ।
नेपाली राजदूतावास, लण्डन
१५ डिसेम्बर २०२२







