बीसीसी युकेले तमु ल्होछार मनाउँदै
पूर्ण गुरुङ
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ । उक्त ल्होछार शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार मनाउन लागिएको हो । सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गे योन्तेन ग्यात्सो गुरुङको बिशेष उपस्थितिमा मनाउन लागिएको ल्होछार पर्वमा बीसीसी युके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पो टासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गर्नेछन् । साथै, पूजाको अन्त्यमा आयुको वाङ (अभिषेक) दिईने बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए ।
तमु धिं युकेका पदाधिकारी एवं सदस्यहरुको बिशेष उपस्थितिमा सम्पन्न हुन लागेको उक्त पूजामा बत्ती बाल्ने, छोक दान र भोजनदान गर्न चाहने ईच्छुक भक्तजनहरुले बीसीसी युकेलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । उक्त बाघ बर्गको बिदाई र बिरालो बर्गको स्वागतार्थ आयोजना गर्न लागिएको कार्यक्रममा तमु धिं युकेले गुम्बा परिसर भित्र नयाँ लुङ्दा समेत फेर्ने भएको छ ।
उक्त पूजामा सहभागी हुनका लागि बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि बीसीसी युकेले हार्दिक अनुरोध गरेको छ । स्मरण रहोस्, बीसीसी युकेले बेलायतमा रहेका शेर्पा, तामाङ, गुरुङलगायत जातजातीहरुको बिशेष पर्वलाई महत्वका साथ मनाउँदै आएको छ । सोही क्रममा तमु ल्होछार मनाउन लागिएको हो ।






