बुद्धिष्ट कम्युनिटी सेन्टरमा तमु ल्होछारको रौनक

SHARE:

पूर्ण गुरुङ
लन्डन १ जनवरी २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले तमु (गुरुङ) हरुको महान् पर्व ल्होछार मनाएको छ ।

शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार ल्होछार मनाइएको हो । सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गेयोन्तेन ग्यात्सो गुरुङको विशेष उपस्थितिमा मनाइएको ल्होछार पर्वमा बीसीसी यूके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पोटासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गरेका थिए । साथै, पूजाको अन्त्यमा सहभागी भक्तजनहरुलाई टुल्कु साङ्गेलेआयुको वाङ्ग (अभिषेक) दिएका थिए ।

तमुधिं यूकेका पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्थितिमा सम्पन्न भएको पूजामा विभिन्न व्यक्तिहरुले दुईहप्ता अघिबाट बत्ती बाल्न, छोक दान र भोजनदानका लागि भाइबर ग्रुपमार्फत आ–आफ्नो नाम दर्ता गराएका थिए । उक्त बाघ बर्गको बिदाई र बिरालो बर्गको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा तमुधिं यूकेले गुम्बा परिसरभित्र नयाँ लुङ्दारसमेत फेरेको थियो । सो अवसरमा तमुधिं यूके ११ औं कार्यसमितिका अध्यक्ष हित काजी गुरुङ, नवनिर्वाचित १२औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सल्लाहकार एवं तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बीसीसी यूकेले हालै ट्रष्टी मेम्बर बनेका नयाँ सदस्यहरुलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । त्यस्तै, बीसीसी यूकेका कर्मचारी र स्वयंसेवकहरुले गरेको कामको प्रशंसा गर्दै खादा लगाई धन्यवाद दिए ।

कार्यक्रममा नयाँ ल्हो बाट सबैको ग्रहशान्ति होस् भन्ने उद्देश्यका साथ घ्यासी पूजा र सम्पूर्ण मानवजातिको सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धिका लागि आयु पूजा आयोजना गरिएको थियो । साथसाथै, बीसीसी यूकेको तर्फबाट अध्यक्ष र बीसीसी यूके आमाहरुको तर्फबाट आमा अध्यक्ष उर्मिला गुरुङले टुल्कु गुरुङलाई मण्डला चढाएका थिए ।

बेलायतका विभिन्न स्थानबाट आएका तमुहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सिक्किमबाट आएका टुल्कु गुरुले बौद्ध धर्ममा पञ्चशीलको महत्वबारे जानकारी गराउँदै बौद्ध धर्मले मानव जीवनमा खेल्ने भूमिकाबाट चर्चा गरेका थिए ।

कार्यक्रममा बीसीसी यूकेका अध्यक्षले बीसीसी यूकेले गुम्बाबाट प्रवाह गरिने विभिन्न सेवाहरुको बारेमा जानकारी गराउँदै बीसीसी यूकेको अनुरोधमा सिक्किमबाट तमु ल्होछारका लागि सहभागी भैदिएकोमा आभार व्यक्त गरे । त्यस्तै, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले टुल्कु गुरुको स्वागत गर्दै तमु ल्होछारको शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै, बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै सिक्किमबाट आएका टुल्कु गुरुको बारेमा जानकारी गराएका थिए । साथै, उनले तमु ल्होछारका लागि भोजन दान गर्नेलगायत दानवीरहरुको नामावली प्रस्तुत् गर्दै सबै दानवीरहरुलाई धन्यवाद दिएका थिए ।

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेका अध्यक्ष, आमा अध्यक्ष उर्मिला गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्वअध्यक्ष लेप्टननारायणप्रसाद गुरुङ र नरेश गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, वर्तमान उपाध्यक्ष आङ्गदावा शेर्पा, रोबिन गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङ, मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङ, गुम्बाका धर्मगुरुहरु, सहयोगी गुरुहरु, गुम्बाका कर्मचारी, स्वयंसेवक, शुभचिन्तक, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, ट्रष्टीजलगायत आमाहरुले विशेष भूमिका खेलेका थिए ।

करिब बिहान ८ बजेदेखि नै बेलायतका विभिन्न स्थानबाट ल्होछारको पावन अवसरमा बत्ती बाल्ने, पूजा गर्ने, गुम्बाले आयोजना गरेको घ्यासी पूजामा सहभागी हुनका लागि भक्तजनहरु आएका थिए । बीसीसी यूके अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

स्मरण रहोस्, करिब १ महिनाका लागि बेलायत आएका टुल्कु गुरुले शनिबार तमुधिं यूकेले अल्डरसटमा आयोजना गरेको तमु ल्होछार कार्यक्रममा विशेष सहभागिता जनाएका छन् । त्यस्तै, संखुवासभा तमु समाज, बुद्धिष्ट गुम्बा रेडिङ्ग र खोसोभो गुरुङ समाजले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । साथै, बीसीसी यूके लन्डन शाखा, तमुधिं यूके लन्डन इकाई, मञ्जुश्री मनीमलम तमु आमा संघ केन्ट, बुद्धिष्ट कम्युनिटी स्वीन्डन, डाइमण्ड बुद्धिष्ट सेन्टर, बागशीला बासपानी समाज, शेर्पा एशोसिएसन यूकेलगायत संघसंस्थाहरुले आयोजना गर्ने ल्होछारलगायत विभिन्न पूजापाठ, ग्रहशान्ति तथा प्रवचनमा सहभागी रहने बीसीसी यूकेका उपाध्यक्ष रोविन गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!