मिति २०७९ पौष १४ अर्थात २९ डिसेम्बर २०२२ राति तमु समाज बहराइन द्वारा आयोजना गरिएको “तमु ल्होसार सांस्कृतिक कार्यक्रम २०७९” भब्य र सब्य रुपमा सम्पन्न भएको थियो।

बहराइन अद्लिय स्थित बाङ्साङ थाइ रेस्टुरेन्टको अडिटरिङ हलमा तमु समाज बहराइनको अध्यक्ष श्री शंकर मान गुरुङको अध्यक्षतामा शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका महामहिम राजदूत सम्माननिय श्री तिर्थराज वाग्ले ज्यु विशिष्ट र विशेष अतिथिमा प्रथम महिला श्रीमती बिमला वाग्ले ज्यु, आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष तथा तमु समाज बहराइनका प्रमुख सल्लाहकार श्री नरेन्द्र घले ज्यु, दूतावास श्रम सहचारी श्री जमुना काफ्ले ज्यु, नेपाली क्लब बहराइनका अध्यक्ष श्री कमल श्रेष्ठ ज्यु, र गैर आवासीय नेपाली संघ बहराइनका उपाध्यक्ष श्री तिर्थ भन्डारी हुनुहुन्थ्यो। साथै अतिथिको रुपमा बहराइनमा स्थापित विभिन्न जातीय, वैचारिक, सामाजिक र क्षेत्रीय संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु हुनुहुन्थ्यो। कार्यक्रम संचालन समाजका सदस्य श्री चन्द्र गुरुङले गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै आफ्नो स्वागत मन्तव्य तमु समाज बहराइनका मानार्थ श्री ज्ञानेन्द्र तमुले दिनुभएको भएको थियो। त्यसपछि कार्यक्रमका सभापति, प्रमुख अतिथि र विशिस्ट अतिथिहरु मञ्चमा उपस्थित भएर संयुक्तरूपमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै राष्ट्रिय धुन सँगै कार्यक्रमको शुभारम्भ भएको थियो। र एकताको सन्देश बोकेर आयो ल्होसार भन्ने गीतमा सांस्कृतिक नृत्यको प्रस्तुतिसँगै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरिएको थियोे। लगत्तै शुभकामना मन्तव्यको क्रम जारी भयो। मन्तव्यको क्रममा नेपाल आदिवासी जनजाती महासंघ बहराइनका अध्यक्ष तथा तमु समाज बहराइनका प्रमुख सल्लाहकार श्री नरेन्द्र घले, तमु समाज बहराइनका संस्थापक संरक्षक श्री दिपक तमुले ल्हासार किन र कसरी मनाइन्छ र ल्होमार्गीहरुमा ल्हो अर्थात बर्गको महत्त्व बारे संक्षिप्त विवरण सहित जानकारी गराउनु भएको थियो। र अन्य विशिस्ट अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि महामहिम राजदूत श्री तिर्थराज वाग्ले ज्युले परदेशमा पनि तमुहरुले आफ्नो संस्कार, संस्कृति र परम्परालाई जोगाउन गरेको प्रयास प्रति खुशी व्यक्त गर्नुभयो। र यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरा औंल्याउदै उपस्थित सबैलाई तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभयो।

अन्तमा कार्यक्रमका सभापति श्री शंकर मान तमुले आफ्नो मन्तव्य दिँदै तमुहरु सबै एक हौं । आदिवासी जनजाती अन्तर्गत तमुहरुको छुट्टै पहिचान रहेको कुरा उल्लेख गर्दै हामीले बोल्ने भाषा र लगाउने पोशकले नै गुरुङको पहिचान दिन्छ भन्दै अबको नयाँ पिडिले आफ्नो भाषा सिक्नुपर्ने कुरामा जोडदिनुपर्ने भन्दै कार्यक्रममा सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दै औपचारिक कार्यक्रम समाप्त भएको घोषण गर्नुभयो। लगत्तै तमु समाज बहराइनको तर्फबाट प्रमुख अतिथि ज्युलाई समाजका अध्यक्ष तथा मानर्थ ज्युबाट तमुहरुको मौलिक वस्त्र भाङ्रा लगाएर सम्मान गरिएको थियो। साथै समाजको हरेक गतिविधिमा आफ्नो अमुल्य सहयोग र योगदान दिनुहुने ब्यक्तित्वहरु, खेलाडीहरुलाई पनि प्रसंसा पत्र सहित सम्मान गरेको थियो। ह्युइ ल्हो (बिरालो) बर्गमा प्रवेश गरेको सबैलाई प्हच्यु च्हिबा ज्ञानेन्द्र तमु र चक्र तमु बाट रुपा(पैरु) लगाएर ग्रह शान्ति गर्दै स्याइस्याइ पनि गरेको थियो। त्यसपछि सांस्कृतिक कार्यक्रम सुचारु गरिएको थियो । अन्तरास्ट्रिय कलाकार समाज बहराइनका वरिष्ठ उपाध्यक्ष तथा आफैमा कलाकारिताको खुबी भएको ब्याक्तित्व श्री कृष्ण खाम्चामगर ज्यले सांस्कृतिक कार्यक्रम संचालन गर्दै कार्यक्रम स्थल संगीतमय बनाएको थियो। कार्यक्रममा कलाकारहरुको रोजाइ अनुसारको विभिन्न मिश्रित गीतहरुमा जस्तै गुरुङ गीत, नेपालमा चर्चित लोकगीतहरु, आधुनिक गीतहरुमा नाचेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गरि कार्यक्रममा उपस्थित दर्शकलाई मंत्रमुक्त बनाउदै मनोरञ्जन दिइरहेको थियो। दर्शकहरु पनि सामुहिक रुपमा पनि नाच्दै कलाकारहरुलाई साथ दिइरहेका थिए

साँच्चिकै तमु ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको भान भइरहेको थियो मौलिक पोशाकमा सजिएको तमु तमुस्योहरु र गैर तमुहरुको पनि बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा तमुहरुको मौलिक परिकार सेलरोटी अचारको पनि ब्यवस्था गरिएको थियो। कार्यक्रम सफल बनाउन सबैले आआफ्नो ठाँउबाट सक्रिय भुमिका निभाउदै समाज प्रति यहाँहरुको सदासयताको उच्च कदर गर्दै तमु समाज बहराइन हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं। यसरी नै ह्युइ ल्होसार कार्यक्रम भब्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको थियोे ।






