
लन्डन ६ जनवरी २०२३ । बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने एजेन्ट/ कम्पनीबाट लन्डनस्थित नेपाली दूतावासको नाम दुरुपयोग भएको पाइएको छ ।
दूतावासका नाममा गलत सूचना प्रकाशित गरी लेटरहेड, छाप र दस्तखत समेतको दुरुपयोग गरिएको दूतावासले जनाएको छ । दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नो लेटरहेड, छाप र दस्तखत अनाधिकृत रुपमा प्रयोग गरी सूचना निकालिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
गत पुस १८ गतेका दिन ‘यूके सिजनल भिसा मिति परिवर्तनबारेमा’ भन्दै दूतावासको लेटरहेड, छाप र दस्तखतसहितको एक फर्जी सूचना प्रकाशित भएको थियो । उक्त सूचनामा सन् २००२२ का लागि भिसा आवेदन दिएका र अन्तर्वार्ताको पालो नपाएका आवेदकहरुको अन्तरवार्ता सन् २०२३ को दोस्रो महिनाको दोस्रो हप्ताबाट सुचारू हुने उल्लेख थियो । साथै, भिसाको अवधि ८ महिनाको हुने र कार्य क्षेत्रको मौसमअनुसार अन्तरवार्ताको मिति फेरि परिवर्तन हुन सक्ने गलत सूचना पनि वक्तव्यमा थियो ।
दूतावासले सिजनल भिसाका सम्बन्धमा आफूले कुनै पनि सूचना जारी नगरेको स्पष्ट पारेको छ । दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसके पनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको आशंका दूतावासको छ । त्यस्ता सूचनालाई आधार मानी वैदेशिक रोजगारीका लागि पहल गर्दा ठगीएमा दूतावास जिम्मेवार नरहने स्पष्ट पारिएको छ।







