
बाग्मती प्रदेशका निवर्तमान मन्त्री बलराम पौडेललाई बेलायती अध्यागमन अधिकारीले खोज्दै
भरतमणि चोङबाङ
उपाध्यक्ष/प्रवक्ता गैर आवासीय नेपाली संघ युके
13 January 2023 बेलायत। भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् ।
बाग्मती प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल र उनकी धर्मपत्नीले नक्कली कागजात राखेर बेलायत घुम्न आएको पत्ता लागेपछि उनीहरु अध्यागमन अधिकारीको खोजीमा रहेका श्रोतले दावी गरेको छ ।
एनआरएनए यूकेले जुन कार्यक्रमका लागि बोलाएको थियो, त्यो कार्यक्रम सकिइसकेको र आमन्त्रित अतिथीले प्रायोजकको मर्यादा समेत भुलेर अवैधानिक समूहको पक्षपोषण गर्न लागेको थाहा पाएपछि एनआरएनए यूकेले उनीहरुको भिसा आवेदन रद्द गरिदिन पत्राचार गरेको थियो ।
तर, कार्यक्रम विवरण र कागजात नक्कली राखेर उनीहरु तीन साताअघि बेलायत उत्रिएपछि अध्यागमन प्रहरीलाई खवर गरेर पौडेल दम्पत्तिलाई डिपोर्ट गर्ने प्रक्रिया बढाइएको श्रोतले बतायो । बेलायतमा नक्कली कागजात राखेर आवेदन दिएको प्रमाणित भए सरकारले १० वर्षसम्म यहां आउन प्रतिवन्ध लगाउन सक्छ ।
पौडेल बेलायतको नेपाली समाज विभाजनमा उद्दत रहेको भन्दै उनलाई फिर्ता पठाउन लागिएको हो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गत ३ जुलाइ २०२२ मा ब्रिटिश हाइ कमिसनलाई सम्बोधन गर्दै मन्त्री पौडेल र उनकी श्रीमति कृष्णकुमारी पौडेललाई आफ्नो संस्थाले प्रायोजन गरि निमन्त्रणा गरेकाले भिसा दिन अनुरोध गरेका थिए ।
गत ६ अगष्ट २०२२ मा निर्धारित संघको वार्षिक साधारणसभामा पौडेल दम्पतिलाई बोलाइएको थियो । कभरिंग लेटरमा उनीहरु ४ अगष्टमा लन्डन आइपुग्ने र ११ अगष्टमा फर्कने जनाइएको थियो । तर पौडेलले मुख्य प्रायोजकको विरुद्ध लागेर अर्को अवैधानिक समूहको पक्षपोषणमा लागेका थिए ।
लन्डन आएपछि पनि पौडेल दम्पति एनआरएनए यूकेबाट वर्खास्त भएका उपाध्यक्ष सुनिलबाबु खड्काको समूहले गरेको कार्यक्रममा सहभागी भएका थिए ।







