मैले देखेको पत्रकार महासंग बेलायतको साधारण सभा
जयराम तामाङ
२२ जनवरी २०२३ – बेलायत | मेरो अतिनै महत्वपूर्ण कामलाइ थाँती राखेर साधारण सभा जाने निधो मैले निकै समय पहिले नै गरिसकेको थियो। आफू पदमा बसी सके पछि कुनै पनि संघ संस्थामा आफूले जानेको र सक्ने जिम्मेवारीहरु निभाउनु पर्छ भन्ने मान्यता राख्ने भएकोले केहि समय अगावै मैले मेरो परिवारलाई जानकारी दिई सकेको थियो । हुन त् मेरो खासै केहि जिम्मेवारी भने थिएन। म अलि टाढा बस्ने भएको कारणले अहिले सम्म संघका साथीहरुले खासै केहि जिम्मेवारी मलाई दिने गर्नु भएको छैन। त्यसको लागि म साथीहरुलाई धन्यबाद दिन पनि चाहन्छु। उमेरको हिसाबले हेर्दा सबैजना साथीहरु भन्दा म नै पाको जस्तो लागेको छ। उमेरले जति पाको भए पनि अरु साथीहरुको तुलानामा पत्रकारितामा म चाही सबै भन्दा नजान्ने अनि कम अनुभब भएको सायद म नै होला जस्तो मलाई लागेको छ ।
मैले अहिले सम्म कुनै पनि मिडियामा तलब या भत्ता खाएर व्यवासायिक रुपमा काम भने गरेको छैन। तर पनि बाध्यताले होस् वा रहरले करिब दुइ दशक पहिले देखि जानी नजानी उत्कृष्ट नभए पनि विभिन्न संचार माध्यमहरुमा निरन्तर कलम चलाउँदै आइरहेकोछु । पत्रकारितामा मास्टर डिग्री गरेर कलम नै चलाउदैन र गफ गरेर पत्रकारको उच्च ओहदामा बसेर स्थान मात्रै ओगटेर बस्छ भने उसलाई पत्रकार भन्ने कि नभन्ने भनेर सवालको जवाफ पनि खोज्नु पर्छ जस्तो मलाई मेरो लाटो दिमागले घरि घरि घच्घच्याउने गरेको छ।
मलाई एउटा अनुभब र परेको घटना सम्झिनु मन लाग्यो। पेशाले नेपालमा एउटा डाडु पन्यु नसमाते पनि कर्म थलोमा भान्सेको काम गरेको करिब साढे दुइ दशक बिति सकेको छ। एक पटक एक जना भान्से अर्थात सेफ मैले काम गर्ने ठाउमा सेफमा ब्याचलर गरेको , सर्टिफिकेट लिएर कामको ट्रायल दिन आएको थियो। सेफमा ब्याचलर गरेको भने पछि मलाई उसको सिप हेर्नु अतिनै उत्सुक लागेको थियो। म्यानेजर ले एक किलो गाजर तासेर काट्नु दिएको थियो। तर उसले त्यो गाजर तासेर काट्नुलाइ २ घण्टा लगाएर पनि राम्रो किसिमले तासेर राम्रो किसिमले राम्रो साइजको नकाटे पछी उसलाई असमर्थ भएकोले काममा नराखेको थियो। जति नै अनुभब भए पनि पत्रकारले कलम चाही चलाई रहनु पर्छ जस्तो मलाई लागेको छ।
हुन त सबैले कलम चलाई रहे पनि सबैले सबैको वेबसाइट थाहा नहुनु पनि सकिन्छ र थाहा हुनु जरुरि पनि छैन र फुर्सत पनि हुदैन जस्तो मलाई लागेको हो। मेरो बिचारमा धेरै जसो साथीहरु पत्रकारिता बाट भन्दा पनि अरु कुनै काम गरेर नै जिविका चलाउनु हुन्छ जस्तो लागेको छ।
हुन त अहिले को यो डिजिटल जमानामा पत्रकार नै पिच्छेको वेबसाइट छ र हुनु पनि जरुरि जस्तो देखिन थालेको छ। मान्छे नै पिच्छेको वेबसाइट सबै पढने फुर्सत सबैलाई नहुन पनि सकिन्छ। कसैले मेरो वेबसाइट एकदम नाम चलेको वेबसाइट हो र मेरो जति नाम चलेको वेबसाइट कसैको पनि छैन भन्नेहरुको वेबसाइटको भित्तामा लेखेको लेख अथवा समाचार कति जनाले हेरेको छ भनेर आज भोलि चलेको चलन भिउ हेर्नु पनि बिर्सनु हुदैन जस्तो मलाई लागेको छ।
वेबसाइट चलाउनु ठुलो कुरा भएन तर कतिले हेरेको छ भन्ने चाही ठुलो कुरा हो जस्तो मलाई लागेको छ। मैले भर्खर लेखि रहेको यो मेरो लेख कसैले पढ्नु हुन्छ होला भनेर मैले खासै आशा पनि गरेको छैन। यो त मेरो मनमा लागेको मनको कथा व्यथाहरु संचार माध्यमहरुको भित्ताहरुमा झुन्ड्याउनु मात्रै हो।
अहिलेको सामाजिक संजालको युगमा जुनसुकै नाम चलेको संचार माध्यमहरुले पनि आखिरी त्यहि सामाजिक संजालको पन्नाहरुमा समाचार अनि लेखहरुको बिज्ञापन गरिरहेको हुन्छ। अब मानिसहरुलाई लामो लामो लेख अथवा समाचारहरु पढ्ने फुर्सत नै छैन भन्दा पनि फरक पर्दैन जस्तो मलाई लागेको छ। मैले आज भोलि धेरै किताबहरु अडियोमा निस्केको सुनेको र देखेको छु। बरिष्ट पत्रकार बिजय पाण्डेको खुशीको अडियो नसुने पनि युट्युबमा कता कता देखेको पनि छु। मैले धेरै साधारण सभाहरुमा उपस्थित हुने मौका मिलेको थियो। बिगतका धेरै जसो साधारण सभाहरु प्राय जसो एकै किसिमले सम्पन्न हुने गरेको मैले देखेको छु।
प्राय जसो साधारण सभाहरुमा बन्द सत्र र खुला सत्र भनेर गरेको देखेको थियो। त्यो सत्रहरुको मन्चमा भए भरको संघ सस्थाको अध्यक्ष , उपाध्यक्ष , महासचिब , सचिब देखि लिएर सस्थाको प्रतिनिधिहरुलाई खादा लगाएर सम्मान र आसनग्रहण गर्न बोलाउँदा तल हेर्न र सुन्न बसेको भन्दा बढी मान्छे मन्चमा हुने गर्दथ्यो।
सबै प्रतिनिधिले शुभकामना र मन्तब्य दिदै गर्दा आधा दिन त्यसैमा जाने गर्दथ्यो। बस्दा बस्दा र सुन्दा सुन्दा वाक्क लागेको सस्थाकको बरिष्ठ भन्नेहरु खादा संगै एक छिन भना भन चले पछि मुक्का प्रहार गर्न थाल्दथ्यो। त्यहि खादा लगाउन र सम्मान खान पाउने आशाले गर्दा नै विश्वको विभिन्न देशमा नेपालीहरुले गाउँको नाउँ मा सस्था , खोलाको नाउँमा सस्था , डाँडाको नाउँमा सस्था , जिल्लाको नाउँमा सस्था , खोलेर नेपाली नेपाली बिचको प्रेम , भातृत्वलाइ दुश्मन मा परिणत गरि दिएको छ। नत्र भने त्यो संस्थामा काम गर्दा न त् तलब आउँछ न त भत्ता आउँछ के को लागि त्यसरी मरिहत्ते गरेर उल्टो पैसा तिरेर संस्थामा जाने इच्छा गर्छ होला त ? हुन त कति सस्थाहरुले धेरै राम्रो कामहरु पनि गरेको छ।
तर पत्रकार महासंघ बेलायतको यो पटक को साधारण सभा सचि नै साधारण नै भएको थियो। निर्धारित समय भन्दा एक घण्टा ढिलो सुरु भए पनि ठिक समयमा नै सम्पन्न भएको थियो। हुन त केहि साथीहरुले महासचिब नरेन्द्र बस्नेत र कोषाध्यक्ष एस के गुरुङ को बार्षिक प्रतिबेदनको केहि बुँदाहरुमा असमति जनाएको थियो। उपस्थित हुन नसक्ने साथीहरु जुम मार्फत भए पनि जोडिएर कार्यक्रम अझै फरक किसिमको भएको थियो। कुनै हल्ला, बादबिबाद , खादा बिना छिट्टो अनि छरितो तरिकाले सम्पन्न भएको साधारण सभा मेरो लागि पहिलो र अन्तिम नै जस्तो मलाई लागेको छ।






