तस्बिर : मिलन तमु
लन्डन १२ फेब्रुअरी २०२३ । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको सातौं भाइखलक तथा चेलीबेटीहरु वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष क्या पिताम्बर गुरुङको अध्यक्षमा अल्डरसटस्थित एम्पायर हलमा ११ फेब्रुअरी २०२३ शनिबार आयोजित वार्षिक भेटघाट विभिन्न व्यक्तिहरुको सम्मान, सांगीतिक प्रस्तुतिसहित सम्पन्न गरिएको हो । जेष्ठ नागरिक धनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी सञ्चालक तथा महासचिव इन्द्र घोतानेले र उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे विचार राखेका थिए ।
भेटघाट कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक धनबहादुर गुरुङले आफूलाई सम्झेर कार्यक्रममा बोलाइएकोमा आयोजक संस्थालाई धन्यवाद दिएका थिए । उनले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके आगामी दिनमा झनै फस्टाओस् भन्ने शुभकामना व्यक्त गरे । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका काम, उपलब्धि र भावी योजनाबारे जानकारी गराएकी थिइन् । यस्तै क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालमा भवन निर्माणका लागि जग्गा खरितार्थ आफ्नो संयोजकत्वमा नेपाली २२ लाख ८७ हजार ११२ आर्थिक सहयोग संकलन गरिएको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले सो अवसरमा जानकारी दिइन् ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालका अध्यक्ष विश्व (भूमि) गुरुङको भिडियो शुभकामना प्रसारण गरिएको थियो भने क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटी महासचिव लिना गुरुङले शुभकामना मन्तव्य दिइन् ।
कार्यक्रममा यस वर्ष यूकेस्थित विभिन्न संघसंस्था अनि राजनीतिक पार्टीका भ्रातृ संगठनहरुका विभिन्न पदमा नियुक्त तथा निर्वाचित दाज्यूभाइ तथा भाइखलकहरुलाई बधाई तथा शुभकामना दिइएको थियो । नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका रुपा घर्तीमगर र यूकेका चर्चित गायिका ममता गुरुङको प्रस्तुतिमा सहभागीहरु बेस्सरी रमाएका थिए । ककटेल नाचसमेत समेटिएको कार्यक्रममा भाग्यशाली चिठ्ठा चरणसहित मध्यराति समापन भएको थियो ।






