
लन्डन मार्च २०२३। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङ्ग र नवनिर्वाचित अध्यक्ष एवं पाँचौं कार्यसमितिका अध्यक्ष हर्क गुरुङबीच एकअर्कामा जिम्मेवारी आदानप्रदान (हेन्डओभर–टेकओभर) गरेका छन् । गत बिहिबार बीसीसी गुम्बामा बीसीसी युकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो टासी, पाँचौं कार्यसमितिका उपाध्यक्ष क्या. देब घले र प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङको उपस्थितिमा एकअर्कामा जिम्मेवारी आदानप्रदान गरेका हुन् ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायत विभिन्न संघसंस्थामा समेत आवद्ध रहेका धर्म तामाङ्गले बीसीसी युकेको स्थापना कालदेखिनै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउने क्रममा २८ फेब्रुअरी २०२१ मा सम्पन्न चौंथो अधिवेशनले चौंथो कार्यसमितिको नेतृत्व प्रदान गरेका थिए । सोही अनुरुप उनले आफ्नो दुई बर्षे कार्यकाल गतहप्ता पूरा गरेका हुन् ।
स्मरण रहोस्, सन् २००७ सालमा स्थापना भएको बीसीसी युकेको हाल सम्म ले.रि. काजी शेर्पा, ले.रि. नारायणप्रसाद गुरुङ बिईएम, नरेश गुरुङ, धर्म तामाङ्गले अध्यक्षता गरिसकेका छन् भने गतहप्तादेखि हर्क गुरुङले पाँचौं कार्यसमितिको नेतृत्वको जिम्मेवारी लिएका छन् ।






