
लन्डन २ अप्रिल २०२३ । गैरआवासीय नेपाली संघ यूके दशौं कार्यसमितिको विशेष अधिवेशन आउँदो २१ मे आइतबार गरिने भएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ बजेदेखि हुने अधिवेशनमा संघको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयाँ नेतृत्व चयन र काउन्सिल अवधारणाबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शीता नाराको समीक्षालगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचारविमर्श हुने जानकारी अध्यक्ष प्रेम गाहामगरले दिएका छन् । विशेष अधिवेशनमा गैर आवासीय नेपाली संघ बेलायतका सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित एनआरएनए आईसीसीका पदाधिकारीलगायत केन्द्रीय पूर्वअध्यक्षहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको गाहामगरले बताए ।
पछिल्लो समय संस्थालाई केही स्वार्थी समूहले ध्वस्त पारेकाले यसको साख जोगाउन पनि अधिवेशनमा उल्लेख्य सहभागिता अपेक्षा गरिएको गाहामगरले बताए । विशेष अधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे गम्भीर छलफल आवश्यक हुने जनाइएको छ ।






