एटा संवाददाता
अल्डरसट । नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) र एनआरएनए युकेद्वारा संयुक्त रुपमा स्वागत, सम्मान गरिएको छ । गत बुधबार २५ जुलाईका दिन उनीसहित भ्रमण टोलीमा रहेकी सोही मन्त्रालयकी सहसचिव राधिका अर्याललाई अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा मन्त्री थापाले निर्वाचनपश्चात् स्थिर सरकार आएको बताउँदै ५ वर्षमा देशमा परिवर्तन हुने विश्वास व्यक्त गरिन् । उनले सरकारले इमान्दारीपूर्वक काम सुरु गरिरहेको बताउँदै गैरआवासीय नेपालीहरुले नेपालको आर्थिक, सामाजिक र देशलाई आपतविपत परेको बेलामा गरेको सहयोगको प्रशंसा गरिन् । त्यस्तै, उनले मोनाले म्याग्दीमा महत्वपूर्ण कामहरु गरेको स्मरण गर्दै माृतभूमिप्रति अत्यन्त चिन्तित रहेको बताइन् ।
एनआरएनए युकेका पदाधिकारीहरुको न्यून उपस्थिति रहेको कार्यक्रममा मोना आईसीसीका संस्थापक अध्यक्ष योगेन क्षेत्री, नेपाली दूतावास लन्डनका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, मगर संघ युकेका अध्यक्ष नेम थापा मगर, तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङ, महासचिव कृष्ण गुरुङ, एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, तमु फोरमका निर्देशक क्या.रि. राजु गुरुङ, एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुन, फोटो पत्रकार मिलन तमु र मोना युकेका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो । सो अवसरमा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले मन्त्री थापालाई बेलायतवासी नेपालीहरुको तर्फबाट मायाको चिनो प्रदान गरे ।
एनआरएनए युकेका अध्यक्ष फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मोना युकेका अध्यक्ष कमल पुर्जाले स्वागत मन्तब्य प्रकट गरेका थिए भने मोना महासचिव कुमार फगामीले कार्यक्रम सञ्चालन गरेका थिए ।
गत मंगलबार जुलाई २४ मा लन्डनस्थित ओलम्पिक पार्कमा भएको विश्व अपाङ्ग शिखर सम्मेलनमा भाग लिन आएकी मन्त्री थापा बिहीबार नेपाल फर्किएकी छन् ।






