लण्डन २८ अप्रिल २०२३ ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा नआउने भएका छन् ।
स्वास्थ अवस्थाका कारण नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि हुन लागेको बेलायत भ्रमण स्थगित भएको हो । यसअघि राष्ट्रपति पौडेल आगामी मे ६ तारिख यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन आउने तयारी थियो । राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा उपचार गराइरहेका छन् ।
चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख छ । छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उनको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि सन् २००३ मा तत्कालिन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा स्वर्गीय राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए । नेपालका राष्ट्रपतिद्वय डा। रामवरण यादव र विद्यादेवी भण्डारी कसैको पनि बेलायत भ्रमण भएन । वकिङघम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झण्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवा सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।
बेलायतमा ७ दशकपछि राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । वेष्टमिनिष्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन् ।






