एटा संवाददाता
अल्डरसट । पोखरेली मञ्च युकेले तीन दिने पदयात्रा गर्ने भएको छ । आउँदो शुक्रबार ३ अगष्टबाट शुरु हुने क्याम्पिङ सहितको पदयात्रा सोमबार ६ अगष्टका दिन पूरा हुनेछ ।
वेल्सको ‘हाईक फर नेपाल’ मूल उद्देश्यका साथ सम्पन्न हुन लागेको सो पदयात्रामा लागि १४ पटक सगरमाथा सफल आरोही फुर्बा तेन्जिङ शेर्पा, १६ विधामा गिनिज बुकमा रेकर्डमा दर्ता गर्न सफल थानेश्वर गुरागाई, मार्शल आर्टका ग्रान्ड मास्टर तुलशी कुमार गुरुङ, वि विल राइज फाउन्डेसन नेपालका निर्देशक निर्मल श्रेष्ठ तथा विविल राइज फाउन्डेशन हङकङका निर्देशक सुरज गुरुङ समेतको बिशेष सहभागिता रहने मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिएका छन् । उनका अनुसार हङ्गकङ्ग र नेपालबाट आउने अतिथिहरु १ अगष्ट बेलुकी हिथ्रो एयरपोर्टमा अवतरण हुने खबर प्राप्त हुन आएको जनाइएको छ ।
‘नेपालका लागि सँगसँगै पाइला चलाऔं’ भन्ने नाराका साथ वेल्सको ब्रेकनमा गर्न लागिएको पदयात्राको क्रममा बे्रकन नेपाली समाजले खानाको व्यवस्थापन गर्ने भएको छ । शुक्रबार बेलुकी बे्रकनस्थित दि मिडोओज बिसोपस् क्याम्पिङमा बास बस्ने र ४ अगष्ट शनिबारका दिन सो आसपासमा रहेको पहाडमा पदयात्रा गर्ने मञ्चले जनाएको छ ।
त्यसैगरी ५ अगष्ट आइतबारका दिन विविध कार्यक्रमको आयोजना गरिने छ भने ६ अगष्टका दिन सबैजना आ–आफ्नो घर फर्कने कार्यक्रम रहेको मञ्चले जनाएको छ ।






