लन्डन ३ मे २०२३। नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च बेलायतले विभिन्न कार्यक्रमसहित मे डे (मजदुर दिवस) को पूर्वसन्ध्यामा विश्व मजदुर दिवस मनाएको छ ।
बेलायतको अल्डरसटस्थित डी लाउन्ज रेस्टुरेन्टमा ३० अप्रिल २०२३ आइतबार कार्यक्रम आयोजना गरी मजदुर दिवस मनाइएको हो । कार्यक्रममा विशेष अतिथिहरु प्रदेश नं १ को योजना आयोगका पूर्वउपाध्यक्ष, माओवादी केन्द्र प्रदेश १ सचिवालय सदस्य तथा केन्द्रीय अर्थ विभागका सदस्य डा. पूर्ण लोक्सोम र नेपली जनप्रगतिशील मञ्च बेलायतका पूर्वअध्यक्ष वर्तमान सल्लाहकार तथा युरोप समिति सचिव रन खाती क्षेत्री र कार्यक्रमका अध्यक्ष मान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त अवसरमा महान् वीरसहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्न एक मिनेट मौनधारण गरियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विशेष अतिथि डा पूर्ण लोक्सोमले श्रमिक र गरिबलाई हेर्ने पार्टी माओवादी भएको र माओवादीले गर्दा नै अहिलेसम्म भएका परिवर्तन सम्भव भएको बताए । उनले गोर्खा मुद्दाका लागि पहिले र अहिले पनि पार्टीको साथ रहेको भन्दै माओवादीका प्रगतिशील कामलाई सबैले साथ दिन आग्रह गरेका छन् ।
त्यस्तै शुभकामना मन्तब्यकै क्रममा अर्का विशेष अतिथि रन खाती क्षेत्रीले सुरुआत अहिलेसम्म संगठनको उपलब्धिबारे सम्झदै, प्रवास विशेष बेलायतमा बसेर राजनीति गर्नेको योग्यता र क्षमताको माओवादी पार्टीले गरेको सम्मानका कारण बेलायतका पूर्व इन्चार्ज पूर्ण लोक्सोम र वासु मिश्रलाई दिइएको जिम्मेवारीले नै पार्टीको पृथकता र उदारता देखाउने कुरा उल्लेख गरे ।
कार्यक्रममा बरिष्ठ लेखक तथा “तेप्लायु” कृतिका लागि स्व विमल स्मृति पुरस्कार २०७८ बिजेता नरेश काङ्गमाङ् राईले पहिचान सहितको प्रदेश नामकरणका लागि माओवादी पार्टीको धारणा स्पष्ट हुन पर्ने र गोर्खाबारे आफ्नो भनाइ राख्दै बिबिध वर्गका श्रमिकहरुको लागि शुभकामना ब्यक्त गरे।
वरिष्ठ समाजसेवी व्यवसायी नेपाली जनप्रगतिशील मञ्च युकेका सल्लाहकार रिटायर्ड मेजर योगेश राईले पार्टीको सकारात्मक कार्यमा सहयोग गर्दै संगठन बलियो बनाउन आफू लागि परेको बताएका छन् । उनले गोर्खाहरुको न्याय हुनु नै श्रमिकको जीत हुने भएको भनेर आयोजित कार्यक्रममा संसार भरका मजदुरहरुलाई शुभकामना मात्रै दिएनन् कार्यक्रम आयोजनामा सहयोग साथै नगद स्पोन्सरसमेत गरेका थिए।
मञ्चका अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मञ्चका सह-कोषाध्यक्ष तथा महिला बिभाग प्रमुख माया केसीले दिइन् । महासचिव विमला लिम्बूले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख तुल छन्त्यालले शुभकामनासहित धन्यवाद दिएका थिए।
अध्यक्ष गुरुङले मञ्चले आयोजना गरेको कार्यक्रमको औचित्य संगै मञ्चका गतिबिधि बारे बोल्दै उनले सहयोगी र उपस्थित सबैलाई शुभकामना तथा आभार समेत व्यक्त गरेका थिए । सो अवसरमा नयाँ सदस्य व्यवसायी तथा समाजसेवी बिष्णु गुरुङलाई नेपाली जनप्रगतिशील मञ्चले स्वागत तथा सम्मान गरेको छ ।
कार्यक्रममा नेपालबाट आएका प्रगतिशील राष्ट्रिय कलाकार नेपाली जनप्रगतिशील मञ्च बेलायतले सागर गुरुङ लाई सम्मान गरेको थियो । उनले विभिन्न सुमधुर गीतहरु प्रस्तुत गरेर दर्शक नचाएर मनोरन्जन प्रदान गरे ।
कार्यक्रम मञ्चका सचिव कृष्ण खनाल, ह्याम्प्सायर क्षेत्रीय संयोजक बीर बलाल, सल्लाहकार कर्मा पहाडी शेर्पा र सल्लाहकार रिटायर्ड मेजर योगेश राईको संयोजनमा भव्यताका साथ सम्पन्न भएको थियो ।






