लन्डन ५ मे २०२३ । भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की काउन्सिलर बनेका छन् ।
भूतपूर्व गोर्खा सार्की नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट बिहीबार काउन्सिलरमा विजयी बनेका हुन् ।
बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार सार्कीले ६५२ मत ल्याएर विजयी भएका छन् । कञ्जरभेटिभ पार्टी उम्मेदवार मेरी आनले ४१४ मत प्राप्त गरेकी हुन्, सार्कीले २३८ मतले जित हात पारेका छन् ।
उनी रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट उम्मेदवार बनेका थिए । उनी विगत ५ वर्षदेखि लेबर पार्टीमा आबद्ध छन् ।
बेलायतको नेपाली समुदायमा समाजसेवामै तल्लीन काउन्सिलर सार्कीले अबको यात्रा राजनीतिबाट भए पनि सेवा समुदायकै लागि गर्ने अठोट व्यक्त गरे । आफ्नो वडाको विकास निर्माण र स्थानीय जनतालाई सेवासुविधा प्रदान गर्न आफ्नो कार्यकाल खर्चने काउन्सिलर सार्कीले बताए ।
नवनिर्वाचित काउन्सिलर सार्की नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष हुन् । उनी लामो समयदेखि एनआरएनए अभियानमा सामेल भए । उनले आफूलाई काउन्सिरमा निर्वाचित हुनका लागि पूर्व र वर्तमान काउन्सिरहरु, पूर्वगोर्खाहरु, पत्रकार, शुभेच्छुक, शुभचिन्तक र परिवारप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।






